मकवानपुर थाहा नगरपालिका क्षेत्रका विभिन्न ९ विद्यालयलाई उछिन्दै हिमालयन बोर्डिङ स्कूल विज्ञान प्रदर्शनीमा पहिलो भएको छ । झम्केश्वरी माविको व्यवस्थापनमा भएको एकदिने प्रदर्शनीमा थाहा नगरपालिका वडा नम्बर ४ को हिमालयन पहिलो भएको हो ।

थाहा नगरपालिका शिक्षा शाखाको आयोजना ३ पौषमा माविस्तरीय बिज्ञान प्रदर्शनी भएको थियो । प्रतियोगितामा पालुङ भ्याली हार्ट एकेडेमी दोश्रो, बज्रवाराही मावि तेश्रो तथा सुन्दरीदेवी माविले सान्त्वना पुरस्कार पाएको छ । प्रदर्शनीको पुरस्कार बितरण कार्यक्रम थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्टको प्रमुख आतिथ्य तथा व्यवस्थापन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रदिप प्रधानको अध्यक्षतामा भएको थियो ।

 कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो भने नगर शिक्षा समिति सदस्य हरीकृष्ण कार्की, पालुङ भ्याली हार्टका संस्थापक सुरेन्द्रमान प्रधान, थाहा नगरपालिका सुचना शाखा प्रमुख सुरज कुमार भुजेल, सूचना प्रविधि अधिकृत भगिरथ कार्कीलगायतकाको आतिथ्यता रहेको थियो । सो अवसरमा सहभागी तथा अतिथीहरुलाई झम्केश्वरी माविका प्रधानाध्यापक उद्धवप्रसाद आचार्यले स्वागत गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले विद्यार्थी माझ रहेको प्रतिभालाई व्यवहारिक रुपमा सिकाइ, सिकाइ उपलब्धि हासिल गर्न यस्ताखाले प्रतियोगिता र प्रदर्शनीको आवश्यकता रहेको औल्याउँदै किताबी ज्ञानमा मात्र विद्यार्थीहरुलाइ सिमित नराख्न विद्यालय र अभिभावकलाई आग्रह गरे । नगरस्तरीय प्रदर्शनीमा प्रथम भएको विद्यालय हिमालयन बोर्डिङ ४ पौषमा थाहानगरको प्रतिनिधित्व गर्दै हेटौंडामा हुने जिल्लास्तरीय बिज्ञान प्रदर्शनीमा भाग लिने पाउने भएको छ ।

पालिका प्रेस
थप जानकारी