मकवानपुर थाहा नगरपालिकाको आयोजनामा भएको वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा थाहा नगरपालिका वडा नम्बर १० विजयी भएको छ । वडा नम्बर १० ले वडा नम्बर ६ लाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

थाहानगरको इन्द्रायणी चौर खेल मैदानमा ५ पुसबाट शुरु भएको प्रतियोगिता स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार वडा नम्बर ५ बाहेक अरु ११ वटा वडाका टिमले प्रतियोगितामा भाग लिएका छन् । वडास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु यहि २६ पौषबाट आयोजना हुने थाहा गोल्डकप प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

 वडास्तरीय प्रतियोगिता थाहानगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । कार्यक्रममा नगर प्रमुख विष्णु विष्ट, नगर खेलकुद विकास समितिका सदस्यहरु तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

९ पुससम्म संचालन हुने प्रतियोगिताका विजयी टिमलाई ३० हजार नगद शिल्ड, मेडल तथा प्रमाणपत्र, उपविजेतालाई १५ हजार र तेस्रो र चौथो स्थानकालाई ५÷५ हजार रुपियाँ पुरस्कार दिइने थाहा नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी