मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र हुने विकास निर्माणका कामका लागि एक्साभेटर (डोजर) खरिद गरेको छ । चालु आर्थिक वर्षको विनियोजित बजेटबाट साउनमा गाउँपालिकाले ठेक्का आव्हान गरेको थियो । १ करोड १० लाखमा खोलिएको ठेक्कामा सोही रकममा जेसिबि कम्पनीको एक्साभेटर खरिद गरिएको छ  ।

गाउँपालिकामा सालिन्दा १ देखि डेढ करोड रुपैयाँसम्म मर्मत सम्भारमा खर्च हुने भएकोले खर्च न्युनीकरणका लागि एक्साभेटर खरिद गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । भौगोलिक विकट इलाका भएकाले वर्षाका कारण र अन्य कारण बाटाहरुमा मर्मत सम्भार गरिरहनुपर्ने बाध्यता रहेको स्मरण गर्दै अध्यक्ष मल्लले भनेको बेलामा साधन नपाइने र रकम पनि धेरै तिर्नुपर्ने बाध्यतालाई हटाउन एक्साभेटर खरिद गरिएको बताए ।

साथै खाली समयमा कुनै निर्माण कम्पनीले भाडामा लैजान चाहेमा समेत प्रदान गरिने बताए । १२ पुसमा एक्साभेटरको पुजा गरिएको छ । गाउँपालिका अध्यक्ष मल्ल, उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले पुजा गरे । उपाध्यक्ष वनस्तम थिङले आफ्नो एउटा सपना पूरा भएको भन्दै फेसबुकमा लेख्नु भएको छः मेरो एउटा सोच थियो राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिकाको सबै क्षेत्र र वडामा समान ढंगले विकास निर्माणका काम गर्न आफ्नै स्रोतसाधनले सम्पन्न हुनुपर्छ । एउटा लक्ष्यमा हामी सफल भएका छौं । चालु आवमा खरिद गरेको एक्साभेटर पनि अब हाम्रो सम्पत्ति र साधनको रुपमा रहनेछ । यसमा हाम्रो गाउँपालिकाको अध्यक्ष राजकुमार मल्ल, कार्यपालिकाको सम्पुर्ण टिमको सामुहिक निर्णयले हामी यहाँसम्म पुग्न सफल भएका छौं । आगामी आर्थिक वर्षमा हामी आफ्नै लोडर खरिद गरेर अझै स्रोत साधनले सम्पन्न गाउँपालिका बनाउने छौँ ।

पालिका प्रेस
थप जानकारी