मकवानपुरको इन्द्रसरोवर कुलेखानी तालमाथि जीपलाइन गर्न पाइने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा कुलेखानी एड्भेन्चर प्रा.लि.ले जीपलाईन संचालन गर्न लागेको कुलेखानी भिलेज रिसोर्टका संचालक परशुराम योन्जनले जानकारी दिए । योन्जन सो जीपलाइनका संचालक समेत हुन् ।

कुलेखानी एडेभेन्चर प्रा.लि.ले अंग्रेजी नयाँ वर्षको अवसरमा जीपलाइनको परीक्षण गरिसकेको छ । एक पटकमा दुईजना यात्रा गर्न सकिने गरि निर्माण गर्न लागिएको उक्त जीपलाईनको नियमित संचालन एकमहिना भित्रै हुने सञ्चालक योन्जनले बताए । ‘इन्द्रसरोवर तालमा बोटिङको मज्जासंगै अर्को साहसिक पयर्टन जीपलाइन शुरु गर्दैछौं, हामी आम पर्यटकहरुलाई घुम्न आउन अनुरोध गर्छौ’– संचालक योन्जनले भने । उनका अनुसार–काठमाण्डौबाट नजिक यि दुवै ‘बोटिङ र जीपलाइन’को मज्जा संगै लिन पाउने ठाउँ कुलेखानी हो । संचालक योन्जन थप्छन–‘यसरी तालमाथि नै जीपलाइन गर्न पाइने नेपालकै संभवतः पहिलो हो ।’

इन्द्रसरोवरको छरदार दोबाटोमा स्टेशन राखिएको जीपलाइन ६ सय मीटर भन्दा बढि लामो रहेको छ । जग्गा बाहेक एक करोड भन्दा बढि लगानीमा शुरु गर्न लागिएको जीपलाइनको सफल परीक्षणसंगै पर्यटकहरु थप आकर्षित हुने लगानीकर्ताहरुको अनुमान छ ।

मकवानपुरको इन्द्रसरोवर पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक मनोरमताको साथै साहसिक पर्यटनका लागि समेत इन्द्रसरोवर प्रसिद्ध छ । इन्द्रसरोवर क्षेत्रमा साना तथा ठूला ठूला होटल समेत संचालनमा रहेका छन् । होटल तथा रिसोर्टले पर्यटकलाई गर्ने व्यवहार र कम खर्चिलो यहाँको सकारात्मक पक्ष रहेको छ ।

हेर्नुहोस भिडियो:

पालिका प्रेस
थप जानकारी