आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क बनाउने कामको सुरुवात गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम अनुसार घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क गर्ने घोषणा गरेबमोजिम मङ्गलबारदेखि निःशुल्क नक्शा वितरण सुरु गरेको हो ।

आँबुखैरेनी गाउँपालिका–३ निवासी मनमाया थापा र अनिता थापाले पहिलो पटक उक्त सेवा लिनुभएको छ । उहाँहरुले घर निर्माणका लागि नक्शा बनाउन गाउँपालिकामा निवेदन दिएकामा गाउँपालिकाले नक्शा निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्यालले उक्त नक्शा सेवाग्राहीलाई हस्तान्तरण गरेकाे हाे ।

नक्शा पास तथा भवनको मापदण्डमा रही नयाँ बन्ने घर तथा भवनको नक्शा गाउँपालिकाले नै निःशुल्क रुपमा बनाइदिने गाउँपालिकाका अध्यक्ष चुमानले बताए । चुमानका अनुसार तीन तल्लासम्मको लागि गाउँपालिकाले नै नक्शा बनाइदिनेछ । नक्शा पासका लागि लाग्ने आवश्यक राजस्व भने तिर्नुपर्नेछ ।

भवन ऐन २०५५ को दफा ८ ९ग० अनुसारको (ग वर्गका भवन) भूइँ तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई तीन तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागू हुने गाउँपालिकाले जनाएको छ । नक्शा पास नगरी बनाइएका घर तथा भवनमा यो सेवा सुविधा लागू नहुने जनाइएको छ ।

‘घर बनाउन नक्शाका लागि सर्वसाधारणले अब बाहिर कन्सल्टेन्सी धाउनुपर्दैन, गाउँपालिकामा आएर सम्पर्क गरेपछि गाउँपालिकाले आवश्यक सबै काम गरिदिन्छ,’ चुमानले भने, ‘कन्स्लटेन्सीमार्फत् नक्शा बनाउँदा कम्तीमा २५÷३० हजार लाग्छ । निःशुल्क हुने भएपछि सर्वसाधारणको उक्त पैसा जोगिन्छ ।’ गाउँपालिकाले ल्याएको यो सुविधाले स्थानीयवासी खुसी भएका छन् । नक्शा बनाउन कन्सल्टेन्सी धाउनुपर्ने बाध्यताबाट सर्वसाधारणले मुक्ति पाउने भएका छन् ।

पालिका प्रेस
थप जानकारी