जिल्लाका २० पालिकामध्ये हरिपुर नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्नुपर्ने कानूनी प्रावधान भएपनि जिल्लाका अधिकांश पालिकाले त्यसो गरेको पाईँदैन । तर हरिपुर नगरपालिकाले भने यो वर्ष आर्थिक वर्ष सुरु भएको पहिलो चौमासिकमा पहिलो सार्वजनिक सुनवाई कार्यक्रम गर्दै स्थानीय सरकारका गतिविधिको बारेमा जानकारी दिएको छ ।

सार्वजनिक सुनवाईमा नगरपालिकाले पहिलो चौमासीक कुल बजेटको ३० दशमल शून्य आठ अर्थात १७ करोड ७९ लाख १५ हजार रकम खर्च गरेको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाईका क्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले पहिलो चौमासिकमा कुल ५९ करोड १४ लाख ६४ हजार ७४४ रुपैया ९४ पैसा बजेटमध्ये पहिलो चौमासिकमा १७ करोड ७९ लाख १५ हजार खर्च भएको विवरण उपस्थित हरिपुर नगरवासीहरुमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा हरिपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष नानी बाबू थापाले पहिलो चौमासिकमा ५ लाखको सम्झौता भएकोमा हाल सम्म ७ लाखको सडक ढलान कार्य सम्पन्न भएको जानकारी गराउनुभयो । त्यस्तै वडा नं २ का बडा अध्यक्ष निरबिक्रम थापाले पहिलो चौमासिकमा वडामा स्वीकृत भएको ३९ वटा योजनाहरुको सम्झौता हुने कार्य धमाधम भैरहेको बताउनुभयो ।

वडा नं ३ का वडा अध्यक्ष लालमहमद शेखले एउटा मदरसाको निर्माण कार्य सम्पन्न भएको र बाँकी योजनाहरुको काम संचालन भैरहेको बताउनुभयो । यसैगरी वडा नं ५ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले जम्मा ३७ वटा योजनाहरुमा १० वटा योजनाहरु सम्पन्न भएको उहाले बताउनुभयो । वडा नं ६ को वडा अध्यक्ष प्रेमहरी श्रेष्ठले १२ वटा योजना रहेकोमा ३ वटा योजनाको सम्झौता भएको छ, ९ वटाको बाँकी रहेको जानकारी गराउनुभयो ।

यसैगरी वडा नं ७ का वडा अध्यक्ष मनोज चौधरीले यश वडामा २५ वटा योजनाहरु संचालनमा रहेकोमा उज्यालो अभियान तथा सडक ढलानको कार्य भईरहेको जानकारी गराउनुभयो । वडा नं ८ का वडा अध्यक्ष हरिबहादुर थापाले भने २२ वटा योजना रहेकोमा २ वटा योजना सम्पन्न भएको छ र साना साना योजनाहरुको काम सम्झौता पछि सुचारू गरिने बताउनुभयो । त्यस्तै वडा नं ९ का वडा अध्यक्ष विश्वनाथ रायले जन्ताको चाहना बमोजिम काम भैरहेको बताउनु हुदै एक रुपैयाँको पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने उहाले सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नु हुदै प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी हरिपुर नगर उपप्रमुख निलम देवी रायले न्यायीक समितिमा विभिन्न किसिमको जम्मा ३८ वटा उजुरी परेकोमा १२ वटाको फर्छयौट भएको तथा बाँकी उजुरीहरुको छिटै फर्छ्यौट हुने स्वागत मन्तव्य राख्दै बताउनुभयो ।

हरिपुर नगरपालिकाका आयोजना तथा नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले बालअक्षय कोषको स्थापना वडाहरुमा छ छैन, बालमैत्री शौचालय छ छैन, विद्यालयहरुमा आठ महिना बितिसक्दा पनि पुस्तक अभाव भएको, पालिकामा विकास कम भ्रष्टाचार बढी हुने गरेको यसको नियन्त्रण कसले गर्ने लगायतका विभिन्न विषयमा प्रश्न गरेका थिए ।

पालिका प्रेस
थप जानकारी