नुवाकोटको विदुर नगरपालिकाले नगरभित्रका स्वास्थ्य संस्थामा पाठेघर शिविर सञ्चालन गरिरहेको छ । ६ पुसबाट सुरु भएको शिविर हालसम्म ७ वटा स्वास्थ्य संस्थामा सम्पन्न भइसकेको छ ।

उक्त शिविर २४ पुससम्म सञ्चालन हुनेछ । विदुर नगरपालिकाको स्वास्थ्य शाखाले गत वर्ष विभिन्न ५ स्थानमा महिलाको पाठेघर स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो ।उक्त समय सञ्चालित शिविरमा पाठेघर समस्या भएका महिला अत्यधिक रहेको पाइएपछि सबैलाई पायक पर्ने गरी यो वर्ष नगरभित्रका १७ वटै स्वास्थ्य संस्थामा शिविर सञ्चालन गर्न लागिएको हो ।

स्थानीय स्तरमै शिविर सञ्चालन हुँदा महिलालाई आप्mनो स्वास्थ्य अवस्थाबारे जानकारी लिन सहज भएको विदुर नगरपालिका वडा नम्बर ४ की सञ्जिला अधिकारीले बताइन् ।  शिविरमा भिडियो एक्सरेसहित महिलासँग सम्बन्धित सबै रोगको पहिचान तथा उपचार स्त्री रोग विशेषज्ञमार्फत दिइँदै आएको छ । सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा सञ्चालित शिविरमा सेवाग्राहीको चाप बढी देखिएको छ ।  स्थानीय स्वास्थ्य संस्थाबाट महिलाले लाभ लिन सकून् भनेरै शिविर सञ्चालन गरिएको वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताए । शिविरमा सहभागी भएकालाई पाठेघरको थप उपचार गर्नुपरे त्रिशूली अस्पताल र काठमाडौंसम्म लगिने उनले जानकारी दिए ।  शिविरमा सहभागी महिलाको पाठेघरको शल्यक्रिया गर्नुपरे नगरपालिकाले निःशुल्क शल्यक्रिया व्यवस्था गर्ने नगर उपप्रमुख गीताकुमारी दाहालले बताइन् ।

हालसम्म वडा नम्बर १, २, ३, ४ र ५ मा रहेका स्वास्थ्य संस्थामा शिविर सञ्चालन भइसकेको छ । बाँकी ८ वटा वडाका स्वास्थ्य संस्थामा क्रमशः शिविर सञ्चालन गर्ने कार्यतालिका छ ।

पालिका प्रेस
थप जानकारी