रामेछापको मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँलाई नेपाली कांग्रेस रामेछापका सचिव दीपक खड्का लगायतको टोलीले अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको भन्दै नेपाल निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ ।

मन्थली बहुमुखी क्याम्पसमा हुन गइरहेको स्ववियु निर्वाचनको मनोनयका विषयलाई लिएर खड्का नेतृत्वको टोलीले कार्यालयमा हुल हुज्जत गरी नगर कार्यपालिकाको दर्ता चलानी किताब कब्जामा लिई प्रमुख प्रशासकीय अधिकृतलाई धाक धम्कि दिएर कानुनी शानको चुनौती दिएको संगठनले जनाएको छ ।

कर्मचारी संगठनले सोमबार विज्ञप्ति जारी गरी यस्तो कार्यले कर्मचारीलाई कार्यसम्पादनमा चुनौती थपेको जनाएको छ । संगठनका जिल्ला अध्यक्ष रोहिणीराज जैसी र सचिव बेदराज काफ्लेले जारी गर्नुभएको विज्ञप्तिमा यस्ता खालका अमानवीय व्यवहार रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

यसै बिच संगठनका पदाधिकारी तथा मन्थली नगरपालिकाका कर्मचारीले २९ फागुनमा रामेछापका प्रमुख जिल्ला अधिकारी सोभाखर रेग्मीलाई भेटी यस्ता खालका गतिविधि रोक्न आवश्यक कारबाही अघि बढाउन माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले घटनाको बारेमा आफूलाई अवगत भएको भन्दै अवाञ्छित क्रियाकलाप गर्ने व्यक्ति कुनै पार्टी वा संगठनको आडमा जोगिन नसक्ने बताए ।स्थानीय प्रशासनले यस विषयमा आवश्यक कदम चाल्ने उनले कर्मचारीलाई आश्वासन दिए ।

खड्का सहितको नेपाली कांग्रसका नेताहरू तथा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले आइतबार प्रमुख प्रशासकीय अधिकृतलाई उनको कार्यकक्षमा पुगेर कालो मोसो लगाउने धम्की दिएका थिए । त्यस पछि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको छलफलमा समेत खड्काले प्रमुख प्रशासकीय अधिकृतलाई कालो मोसो दल्ने धम्की दिएका थिए । छलफलमा नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले गल्ती भएको भन्दै क्षमा माग्नु मागे ।

-सनराइजखबरबाट

पालिका प्रेस
थप जानकारी