हेटौंडा उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको छ । अघिल्लो आर्थिक वर्षमा निर्माण भएका भवन संख्याको आधारमा चालु आर्थिक बर्ष २०७९।०८० मा कम भएकोे हो ।

हेटौंडा उपमहानगरपालिकाको योजना तर्जुमा तथा पुर्वाधार विकास महाशाखा भवन अनुमती तथा मापदण्ड र्कायान्वयन शाखाको तथ्याङ अनुसार चालु आर्थिक बर्षको २०७९।०८० को माघ सम्ममा २ सय ३३ वटा भवन निर्माणको नक्सा पास भएको छ । अहिलेको तुलनामा अघिल्लो वर्ष करिब ५ सयको संख्यामा भवन निर्माण अनुमति लगिसकेको अवस्था रहेको शाखाले जनाएको छ ।

शाखाका अनुसार चालु आर्थिक बर्ष २०७९÷०८० को माघ सम्म २ सय ११ नक्सा इजाजत लिन पालिकामा पेश भएको छ भने ११ वटा नक्सा म्याद थप भएको छ । चालु वर्षमा ६० वटा नक्सा नामसारी भएको छ । चालु आर्थिक बर्षको माघ मसान्तसम्म सार्वजनिक सडक र प्लानिड्ड स्विीकृतीको काम नभएको महाशाखा प्रमुख सत्यनारायण शाहले बताए । तथ्याङक अनुसार चालु आर्थिक वर्षको माघ मसन्तसम्म सबै भन्दा बढी भवन निर्माण इजाजत हेटौंडा–५ मा ६२, हेटौंडा–८ मा ३३, हेटौंडा–७ मा २२, हेटौंडा २ मा १२ र हेटौंडा ६ मा ११ वटा रहेको छ भने अन्य वडामा न्यून संख्यामा रहेको जनाएको छ । तथ्याङक अनुसार साउनमा सबै भन्दा बढी ४३, भदौंमा ३०, असोजमा ४१, कार्तिकमा १५, मंसिरमा ३६, पुसमा ३७ र माघमा ३१ वटा इजातज लिएका छन् ।

महाशाखा प्रमुख शाहका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा चालु वर्षको सुरुबाटै आर्थिक मन्दीका कारण भवन इजाजत लिने संख्यामा कमि आएको हो । उनले भने–‘सबैतिर आर्थिक समस्या छ कसरी भवन निर्माणको काम हुनु ।’ बैंक तथा वित्तीय सस्थाले लगानी नगरेसम्म अहिले भवन निर्माण हुने र बजारमा आर्थिक कारोवारमा सुधार नआएसम्म अवस्था यस्तै रहने उनको बुझाइ छ । अहिले नगरका १९ वटै वडामा न्यून संख्यामा भवन निर्माणको काम भएपनि लगानी अपुग हुँदा बनेका घरहरु पनि पुरा गर्न नसकेर म्याद थप गर्नुका लागि निवेदन आउँने क्रममा रहेको उनले बताए ।

भवन अनुमती तथा मापदण्ड र्कायान्वयन शाखाका अनुसार अघिल्लो आर्थिक वर्षमा नक्सा पास ७ सय ४९, नक्सा दर्ता ७ सय ४८, म्याद थप ४९, नक्सा नामसारी १ सय ९, सडक सार्वजनिक १४ र प्लानिड्ड स्वीकृत १३ वटा भएको थियो ।

पालिका प्रेस
थप जानकारी