प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा र स्थानीय सेवामा नियुक्ति पाएका कर्मचारीको वैयक्तिक विवरणसहितको अभिलेख प्रदेशमै राखिने भएको छ ।

कर्मचारीको वैयक्तिक विवरण राख्ने प्रादेशिक वैयक्तिक विवरण प्रणाली (पिआइएस) पोर्टलको अभावमा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीको अभिलेख राख्ने काममा अन्योल आएको थियो ।  प्रशासनिक सङ्घीयता कार्यान्वयनका व्रmममा बागमती प्रदेशमा प्रदेश लोक सेवा आयोग स्थापना भएर काम सुरु गरिए पनि प्रदेश किताबखाना कार्यान्वयनको पाटो थाती रहेको थियो । राष्ट्रिय किताबखाना (निजामती) ले प्रादेशिक पिआइएस पोर्टल बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै प्रदेशमै वैयक्तिक विवरणसहितको अभिलेख राख्ने बाटो खुलेको हो ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७६ अनुसार २०७६ मङ्सिर २ गते बागमती प्रदेशमा लोक सेवा आयोग स्थापना भएको एक वर्षपछि प्रदेश निजामती र प्रदेशभित्रका स्थानीय तहका विभिन्न सेवा समूहका पद पूर्तिका लागि ती निकायबाट प्राप्त माग अनुसार उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गर्दै आएको थियो तर प्रदेश लोक सेवाको सिफारिसमा प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारीले पिआईएस नम्बरसमेत पाउन सकेका थिएनन् । प्रादेशिक पिआईएस पोर्टल राष्ट्रिय किताबखाना (निजामती) ले बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि प्रदेश किताबखानासमेत कार्यान्वयनमा आउने भएको छ ।

सोह्र सय कर्मचारीको छैन अभिलेख

बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगबाट परीक्षा दिएर उत्तीर्ण भई प्रदेश र स्थानीय तहमा नियुक्तिका लागि सिफारिस भएका झन्डै एक हजार छ सय कर्मचारी प्रदेशको वैयक्तिक विवरण प्रणाली (पिआइएस) मा अझै जोडिएका छैनन् । प्रदेश लोक सेवा आयोगका सूचना अधिकारी राजुराज अर्यालले विभिन्न तह र सेवा समूहका चौथो तह सहायकस्तरदेखि नवौँ तहसम्मका कर्मचारी प्रदेश र स्थानीय तहमा नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।

प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि सिफारिस गर्न सुरु गरेको तीन आर्थिक वर्ष भइसकेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बद्री पाठकले राष्ट्रिय किताबखाना र प्रदेश सरकारबीच भएको समझदारी अनुसार प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरणसँगै प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका कर्मचारीको व्यक्तिगत अभिलेख प्रदेशमै राख्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेश किताबखाना कार्यान्वयन प्रव्रिmयासमेत सुरु गरिएको बताउँदै पिआइएस नम्बरको अभावमा पहिचानमा समस्या भएका कर्मचारीले अब पिआईएस नम्बरसमेत पाउने बताउनुभयो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर आएका कर्मचारीको यसअघि नै राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरणको अभिलेख छ । प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण भएपछि प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका निजामती कर्मचारीको सिटरोल भर्ने, व्यक्तिगत विवरण राख्नेलगायतका अन्योलको अन्त्य भएको छ ।

किताबखानामा जनप्रतिनिधिको सम्पत्ति विवरण

बागमती प्रदेश सरकारले स्थापना गरेको किताबखानामा स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति विवरणको अभिलेखसमेत रहने भएको छ । प्रदेश सुशासन ऐन, २०७७ मा व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोगमार्फत प्रदेश र यस प्रदेशभित्रका स्थानीय तहमा नियुक्त र बढुवा हुने कर्मचारीको अभिलेख राख्न प्रदेश किताबखाना (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७८ जारी गरी छुट्टै प्रदेश किताबखाना स्थापना गरेको हो ।

प्रदेश किताबखानामा प्रदेश निजामती सेवाका कर्मचारी, प्रदेश प्रहरी सेवाका कर्मचारी, प्रदेश अनुसन्धान ब्युरो सेवाका कर्मचारी, प्रदेश अन्य सरकारी सेवाका कर्मचारी, स्थानीय सरकारी सेवाका कर्मचारी र प्रदेश सरकारले तोकेका अन्य सरकारी सेवाका कर्मचारीको अभिलेख रहने छ । प्रत्येक कर्मचारीले आफ्नो सम्पत्ति विवरण किताबखानामा पेस गर्नुपर्ने छ । यस्तै किताबखानाले सार्वजनिक पद धारण गरेका पदाधिकारीको विवरणको अभिलेखसमेत राख्ने भएको छ । राष्ट्रिय किताबखाना निजामतीले प्रादेशिक पिआइएस पोर्टल सातै प्रदेशमध्ये पहिलो पटक बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । प्रादेशिक पिआइएस पोर्टल आगामी दिनमा व्रmमशः अन्य छ वटै प्रदेश सरकारलाई हस्तान्तरण गरिने राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ ।

-गोर्खापत्रबाट ।

पालिका प्रेस
थप जानकारी