थाहा नगरपालिकाका कृषि अधिकृत विकास विकले किसानहरुले बुढो बेर्ना सारेका कारण १० दिनमै काउली फुलेको प्रतिक्रिया दिएका छन् । थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटकी कृषक रुकु रायमाझीले काउली सारेको १० दिनमै फुलेको खबर सामाजिक संचालमा फोटोसहित सार्वजनिक भएपछि पालिकाको कृषि अधिकृत सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । ह्वाइट टप काउली  १ महिनासम्म ब्याडमै राखेर रोपिएकोले यस्तो समस्या आएको विकले बताए ।

ह्वाईट टप (अगौटे) जातको काउली भएको र ६० दिनमै उत्पादन दिने काउली भएकोले कृषि प्राविधिकको सल्लाह अनुसार ब्याडमा राख्ने र समयको तारतम्यता मिलाउनुपर्ने कृषि प्राविधिकहरुले बताएका छन् । अधिकृत विकले भने–‘बिउ राख्ने, उमार्ने, ब्याडमा नै गाँठे रोगको सँक्रमण रहेको र केही समयदेखि लगातारको खडेरी र उच्च तापक्रमको प्रभावका कारण बिरुवा बढ्न नसकेको तथा अहिलेको बाली भन्दा अघि गँहु लगाएको माटो भएकाले पर्याप्त मलखाद ’भाव हुँदा समस्या देखिएको हो ।’ उनले बीउमा रहेको यथार्थ संकेत पत्र अनुसार बीउ म्याद ननाघेको र उमारशक्ति पनि सहि रहेको बताए ।

किसानहरुको गुनासो पश्चात् पालिकाको कृषि विकास शाखाबाट कृषि अधिकृत विकास विक, प्राविधिक सहायकहरु राजकुमार श्रेष्ठ, बालकुमारी भट्टराई तथा प्राविधिक सहायकहरु रोहिणी स्याङ्तान र विनिता विष्टसहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो । नगरपालिकाले वडा कृषि प्राविधिकमार्फत वा प्रत्यक्षरुपमा नगरको कृषि विकास शाखाबाट आफना खेतबारीका बालीमा आएको समस्याहरुको विषयमा सल्लाह लिन आग्रह गरेको छ । पालिकासहित वडास्तरमा प्राविधिक मार्फत किसानहरुलाई प्राविधिक सेवा उपलब्ध भइरहेको कृषि विकास शाखा प्रमुख संजय तिवारीले बताए ।

पालिका प्रेस
थप जानकारी