मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ३ का कृषक भुवन सेढाईले ७ हजार बन्दाको बेर्ना रोपेका थिए । अहिले बन्दा बिक्रीका लागि तयार भैसक्यो । सामन्यतया बन्दा १० टन उत्पादन हुन्छ । १० रुपैंया प्रतिकिलोमा बेच्न पाउँदा १ लाख आम्दानी हुन्छ ।सेढाईले भने, ‘तीन महिना मेहनत गर्दा १ लाख आम्दानी हुन्थ्यो ।’ उनले थपे, ‘२५ हजार लगानी खर्च हुँदापनि ७५ हजार बचत हुन्थ्यो । कुनै समय ५० रुपैयाँ किलोमा समेत बिक्री हुनगरेकोे बन्दा यसपाली प्रतिकिलो ३ रुपैयाँमा पनि बिक्न मुस्किल छ ।’
त्यस्तै थाहा नगरपालिका वडा नंम्बर ४ फापरबारीका कृषक कुमारी तामाङले उत्पादन गरेको करिब ३ टन मुला ५/६ रुपैयाँमा बिक्री हुन पनि मुस्किल छ । तामाङले भनिन्, ‘लगानी नै १० हजार भन्दा बढी लाग्छ । जम्मै मुला बेच्दा २० हजार पनि आउँदैन कसरी जीवन धान्नु ?’
सेढाई र तामाङ जस्ता धेरै कृषकहरु आफूले उत्पादन गरेको तरकारी उचित मूल्य नपाउँदा चिन्तित भएका छन् । अन्य तरकारीको तुलनामा बन्दा र मुलाको खेती बढी भएको अवस्थामा बिक्री मूल्य निकै कम भएकोले कृषकहरु लगानी डुबेर नोक्सानीमा पर्ने भएकोले चिन्तित भएका छन् । आर्थिक मन्दी र होटल ब्यवसायको सञ्चालनमा कमी आएको कारण तरकारीको मूल्य कम भएको स्थानीय तरकारी ब्यापारीहरु बताउँछन् ।
बर्सेनी आफूले उत्पादन गरेका तरकारीले मूल्य नपाएपछि कृषकहरु बिकल्पको रुपमा बिदेशिन बाध्यता रहेको स्थानीय कृषक तोकबहादुर लो बताउँछन् । ऐले थाहानगरमा काउली, मुला, बन्दा, गाँजर, माछे खुर्सानी, धनियाँलगायतको तरकारी उत्पादन भइरहेको छ । अन्य तरकारीको तुलनामा बन्दा र मुलाको बिक्री मूल्य निकै कम भएकोमा कृषकको गुनासो छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्