मकवानपुरको हेटौंडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहको छ । नेपालसगँको सीमाक्षेत्रका भारतीय किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रले जनाएको छ । भारतीय किसानले वारा, पर्सा र रौतहटका किसानमार्फत् राम्रो नश्लका सो भुरा लैजाने गरेको सम्बद्ध कर्मचारीले जानकारी दिएका छन् । १० लाख भन्दाबढी माछाका भुरा भारतमा जाने गरेको छ ।

त्यस्तै माछासमेत खरिदगरी भारतमा लैजाने गरेको बताइएको छ । कार्यालयवाट प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्षको असार १० गतेसम्म चार करोड ३५ लाख भन्दाबढी माछाका भुरा उत्पादन गरी बिक्री गरिएको छ । केन्द्र प्रमख सरोज यादवका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको छ । विगतमा प्रत्येक वर्ष तीन करोड बढी माछाको भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यसवर्ष माछा र भुराको उत्पादन वृद्धि गरिएको हो । त्यसका लागि कार्यालयमा भएका पोखरी मर्मत र सुधार गरिएको छ ।

केन्द्र प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाई, मर्मत र निर्माणको कामलाई निरन्तरता दिइएको जानकारी दिए । यहाँ रहेको माछा फार्मबाट सात जातका विकासे माछा प्रजनन गरी भुरा बिक्री गर्दै आएको छ । हाल स्थानीय लोपोन्मुख सहर तथा गर्दीजातको रङीन कोई कार्प माछा प्रजनन तथा बिक्री वितरणको क्रममा रहेको छ । कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तर बाट सिफारिश गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माहुर तथ विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड, ग्रप्स कार्पसहित सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री वितरण गरिएको छ ।

पालिका प्रेस
थप जानकारी