मकवानपुरको मनहरी गाउँपालिकामा बसपार्क निर्माण सुरु नै नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी परेको छ । बसपार्कको डीपीआर निर्माण भएर बजेट व्यवस्थापनको चरणमै रहेको अवस्थामा अख्तियारमा उजुरी परेको हो । अख्तियारमा सामान्यतयाः निश्चित कार्यमा खर्च भइसकेकोपछि वा काम जारी नै र हँदा कुनै अनियमितता देखिए उजुरी पर्ने गरेका छन् । तर, मनहरीमा आयोजना निर्माण सुरु नै नभई उजुरी परेको हो ।

मनहरी गाउँपालिका– ८ बेलुवा क्षेत्रमा निर्माण गर्ने भनिएको बसपार्क र अन्य भौतिक पूर्वाधारहरु रोक्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । मनहरी गाउँपालिकाले राजमार्गबाट दक्षिणतर्फ पर्ने बेलुवा बगरक्षेत्रमा ५ करोड रुपैयाँ लगानी गरेर बसपार्क, पेट्रोल पम्प, पाहुना घर, पार्कलगायतका संरचना निर्माण गर्नेगरी डीपीआर गरेको थियो । डीपीआरअनुसार योजना कार्यान्वयनका लागि मनहरी गाउँपालिका र ८ नम्बर वडा कार्यालयले बागमती प्रदेश सरकारसँग बजेट व्यवस्थापनका लागि माग गरेको थियो । तर, बजेटको व्यवस्था नहुँदै अख्तियारमा उजुरी हालेर मनहरी–८, स्थित नदीउकास जमिन क्षेत्रमा बसपार्क सहितका संरचना बन्न नदिन षड्यन्त्र रचिएको ८ नम्बर वडाका वडाअध्यक्ष नारायण उप्रेतीले गुनासो गरे । वडाध्यक्ष उप्रेतीले गाउँको विकास निर्माणको काम रोक्न खोजेर व्यक्तिगत दुराशय ब्यक्त गर्दै अख्तियारमा उजुरी गरिएको आरोप लगाए । बेनामे उजुरी परेकाले एक दिन पर्दाफास हुने उनको दाबी छ । उजुरीमा बेलुवा क्षेत्रमा बसपार्क निर्माण गर्न नपर्ने व्यहोरा उल्लेख छ । पूर्व– पश्चिम राजमार्गको हेटौंडा र भरतपुरमा बसपार्क रहेकाले मनहरीमा बसपार्क बनाउन उपयुक्त नरहेको उजुरीमा भनिएको छ । नदीको उकास जमिन भएकाले सुरक्षित नरहेको र विकास बजेट दुरुपयोग हुने निश्चित जस्तै भएकाले बजेट बिनियोजन गर्न नहुनेतर्फ बागमती प्रदेश सरकारलाई सचेत पार्नुपर्ने तर्क उजुरीमा गरिएको छ ।

उजुरीमा बसपार्क निर्माणको बहनामा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र ८ नम्बर वडाध्यक्ष उप्रेतीले आफ्नो बालुवा तथा क्रसर उद्योगहरुको सञ्चालनका लागि सरकारी बजेट पार्न खोजिएको आरोप लगाइएको छ । अख्तियारले उजुरीका सम्बन्धमा के कसो भएको हो ? भनी मनहरी गाउँपालिकासँग जवाफ माग गरिसकेको छ । हाल नदीउकास भनिएको जग्गा तत्कालीन सरकारले २०५० सालको बाढीबाट क्षतिग्रस्त भएपछि मुआब्जा दिएको जग्गा हो । यो क्षेत्रमा जग्गाको मुआब्जा लिन बाँकी जग्गाधनीहरु अझै छन् । पर्सा वन्यजन्तु आर क्षको मध्यवर्ती क्षेत्रमा पर्ने खाली जग्गामा भूभागहरु अतिक्रमण हुने गरेको छ ।

पालिका प्रेस
थप जानकारी