हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै चखेल, देउराली भएर काठमाडौँको सतुंगल जोड्ने मार्ग मर्मतमा स्थानीय आफैँ जुटेका छन्। हेटौँडा र काठमाडौँ जोड्ने सबभन्दा छोटो सडक भएकाले सुमो र साना निजी सवारीसाधन यहाँबाट आवतजावत गर्छन्।

बागमती प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको मकवानपुरतर्फ भन्दा काठमाडौँतर्फको सडक बिग्रिएको छ। दुवै खण्डको काममा ढिलाइ र लापरबाही भएको भन्दै स्थानीय जनप्रतिनिधि र सडक निर्माण सरोकार समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायको ध्यानाकर्षण गराएका थिए। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले उक्त मार्गको चखेल–देउराली–धारापानी सडकखण्डका मोडमा सवारीसाधन आवतजावत गर्न समस्या भएकाले श्रमदानका लागि आह्वान गरेका थिए । वडाध्यक्ष तितुङको आह्वानपछि वडाका झन्डै ५० जनाले १० साउनमा श्रमदान गरेका थिए। तीमध्ये अधिकांश रोजगारी र अध्ययनका लागि काठमाडौँ बस्दै आएका सोही गाउँपालिकाका युवा थिए। “मोडहरूमा कतै ढुङ्गा उठेको त कतै दबिएको, कतै अधिक खाल्टाखुल्टीका कारण गाडी चिप्लने र फस्ने समस्या थियो। श्रमदानबाट सुधारको काम भयो, अब सुमोलगायतका सवारीसाधन पानी पर्दा चल्ने गरी कामचलाउ भएको छ,” वडाध्यक्ष तितुङले भने ।

उनले गत असार १५ गते सडकको समस्याबारे प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भए पनि समस्याको सुनुवाइ नभएको र निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि चासो नदिएको गुनासो गरे । महालक्ष्मी दोभान–मकैबारी खण्ड प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनमार्फत र मकैबारीदेखि मातातीर्थ–सतुंगल खण्ड पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत बोलपत्र आह्वान गरी काम भइरहेको छ।

दुवै सडकखण्ड सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो। महालक्ष्मी दोभान–मकैबारी खण्ड एक पटक र मकैबारीदेखि मातातीर्थ–सतुंगल खण्डको तीन पटक म्याद थप भए पनि निर्माण पूरा भएको छैन।

-गोरखापत्रबाट

पालिका प्रेस
थप जानकारी