मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा चिया र कफीको परीक्षण खेती शुरु गरिएको छ । ३ नम्बर वडाको कालीबञ्जार सामुदायिक वन क्षेत्र अन्तर्गत रहेको दमारमा १३ साउनमा टक्दा–८ जातको ४ सय चियाको र १ सय वटा कफी परीक्षणका लागि रोपीएको हो ।

स्थानीयहरुले कालिब्ञ्जार सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरु, पदाधिकारीहरु सहितको सभागितामा चिया र कफीको विरुवा रोपेका हुन् । नेपालमा खेती गरिँदै आएको विभिन्न ४ जातका चिया मध्ये टक्दा–७८ थाहानगरको उच्च भागको हावा पानीमा हुर्कन सक्ने अनुमानसहित परीक्षण शुरु गरिएको सामुदायिक वन उपभोक्ता समितिका कमलकुमार केसीले जानकारी दिए । चियाखेती सफल भए आम्दानी र पर्यटन प्रवद्र्धन दुवै हुने केसीको भनाइ छ ।

तरकारी खेतीमा मात्र आकर्षित थाहाका किसानहरुका लागि बहुबर्षिय चिया खेती सफल भएमा आम्दानीको दीगो स्रोत हुने नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । चियाको बिरुवा समशितोष्ण हावापानीमा सहजै हुर्कन सक्ने भएकोले व्यवसायिक उत्पादनका लागि परीक्षण थालिएको प्रमुख विष्टले बताए ।

यसअघि थाहा नगरपालिका वडा नम्बर ११ मा पनि चिया खेतीको परीक्षण गरिएको भएपनि सन्तोषजनक उत्पादन हुन नसकेको किसानहरुले बताए ।

पालिका प्रेस
थप जानकारी