मकवानपुरको चित्लाङमा स्थापना भएको मदनभण्डारी विश्वविद्यालयले शुरूमा विद्यावारिधि र स्नातकोत्तरबाट आफ्नो कार्यक्रम शुरू गर्ने जनाएको छ। २२ साउनमा ललितपुरमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विश्वविद्यालयको उद्घाटन गरेका छन्।

पहिलो चरणमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमेटेरियल इन्जिनीयरिङ, आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्समा स्नातकोत्तर कार्यक्रम शुरू गर्ने विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्रध्वज जोशीले बताए । “हाम्रो नीति भनेको विद्यार्थीसँग शुल्क नलिने बरु उल्टै महीनाको २०–२५ हजार छात्रवृत्ति दिने हो,” जोशीले भने, “त्यसका लागि चाहिने ठूलो धनराशि जुटाउने कसरतमा छौं।”

विश्वविद्यालयले गर्ने सबै अनुसन्धान कुनै औद्योगिक समस्यामाथि केन्द्रित गर्ने लक्ष्य राखिएको जोशीले बताए। औद्योगिक प्रायोजनको खाकामा अघि बढ्ने नीति अनुसार लार्के हिमाल जडीबुटी उद्योगसँग एक जना विद्यावारिधि र एक जना स्नातकोत्तरका विद्यार्थीलाई छात्रवृत्तिका लागि सम्झौता गरिएको बताए। उद्योगलाई चाहिने ‘रिसर्च एन्ड डिजाइन’ को काम विश्वविद्यालयले गर्ने जनाइएको छ। “नेपालमा राजनीतिक दबाबले काम गर्न दिएन भन्ने सुनिन्छ तर यो विश्वविद्यालयको हकमा त्यो देखिंदैन। काम गर्न धेरै सहज छ,” जोशीले भने, “कानूनी तथा शासकीय संरचनाको हिसाबले विश्वविद्यालय ‘परफेक्ट’ छ। संसारका १०० वटा राम्रा विश्वविद्यालयमा एउटा बन्ने हाम्रो ध्येय हो।”

उद्घाटन कार्यक्रममा विश्वविद्यालयबारे जानकारी दिंदै ट्रस्टी प्राध्यापक सुदर्शनराज तिवारीले कृषि अर्थतन्त्र हुँदै औद्योगिक अर्थतन्त्र पार गरेर ज्ञान अर्थतन्त्रमा संसार पुगिसकेको अवस्थमा मदनभण्डारी विश्वविद्यालयलाई पनि ज्ञान अर्थतन्त्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने चुनौती र दबाब रहेको बताए। “विश्वविद्यालयले रिसर्च बेस्ड एजुकेशनलाई जोड दिने कार्यक्रम अघि सारेको छ,” तिवारीले भने, “यसले अनुसन्धान मार्फत ज्ञान निर्माण जोड दिनेछ।”

त्यस्तै, अर्का बोर्ड अफ ट्रस्टी पदम ज्योतिले नयाँ विश्वविद्यालयको आवश्यकता र स्थायित्वबारे धारणा राखेका थिए। सिंगापुर न्याशनल विश्वविद्यालयका प्रोफेसर श्रीराम रामकृष्णाले मदन भण्डारी विश्वविद्यालयको सान्दर्भिकता र भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

पालिका प्रेस
थप जानकारी