स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएका परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । नगरपालिकाले मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

कोभिड–१९ का कारण परिवारको सदस्य गुमाएर दुःखमा परेका वालिङका नागरिकलाई नगरपालिकाबाट राहतका साथै काजकिरिया गर्न सघाउ पु¥याउने उद्देश्यसहित प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रमुख खाँणले बताए । ‘कोभिड–१९ महामारीमा परिवारका सदस्य गुमाएर पीडामा परेका बेला अभिभावकको रूपमा रहेको नगरपालिकाबाट तत्कालका लागि राहत र काजकिरियाका लागि रकम उपलब्ध गराउँछौँ’, प्रमुख खाँणले भने ।

नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरूप रकम उपलब्ध गराइएको प्रमुख खाँणले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नगरपालिकाको विपद् व्यवस्थापन कोष तथा कोरोना कोषमा जम्मा भएको रकमलाई एकीकृत गरी कोषमार्फत खर्च गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ र विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७ अनुसार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।

‘चालू आर्थिक वर्षको सुरुबाट राहत र काजकिरियाका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउन सुरु गरेका हौँ’, भट्टराईले भने, ‘१५ पुससम्म ४९ जनाले लगिसकेका छन् भने प्रक्रियामा ६० भन्दा बढी छन् । अझै निवेदन आइरहेकाले संख्या बढ्ने देखिन्छ ।’ नगरपालिकाले गत १५ पुससम्म ४९ जनालाई राहत र काजकिरियाबापत १२ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए । भुक्तानी दाबी गर्न कोभिड–१९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराइनेछ ।

पालिका प्रेस
थप जानकारी