प्रत्येक स्थानीय तहको स्वास्थ्य केन्द्रमा सातै दिन कोरोना भाइरसविरुद्धको र एन्टिजेन परीक्षण सञ्चालन हुने भएको छ । संघीय सरकारले जारी गरेको ‘ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेश’ मा सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा सातै दिन दिनमा न्युनतम १२ घण्टा सञ्चालन हुने गरी बुथ राख्ने उल्लेख छ ।

आदेशको स्थानीय तहको जिम्मेवारीमा भनिएको छ, ‘स्थानीय तहको स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा सातै दिन न्यूनतम १२ घण्टा सञ्चालन हुने गरी कोभिड–१९ विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्ने ।’ महानगरपालिका, उप महानगरपालिका तथा नगरपालिकाले जनघनत्वको आधारमा थप खोपकेन्द्र राख्न पाउनेछन् । खोप लगाउन स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य आवश्यक जनशक्ति तथा आवश्यकताअनुसार स्वयंसेवक पनि खटाउन पाइनेछ ।

संघीय सरकारले स्थानीय तहलाई नै पालिकामा खोप नपाउने व्यक्तिहरू पहिचान गरी कोभिड– १९ विरुद्ध खोप लगाउने अभियानलाई तीव्रता दिई पूर्ण खोप अभियान सञ्चालन गर्ने दायित्व सुम्पिएको छ । निकट भविष्यमा खोप प्राप्त गर्ने ५ वर्षदेखि ११ वर्ष सम्मका बालबालिकाको पहिचान र सूची तयार गर्ने र उपलब्ध हुनासाथ लगाउने तयारी गर्ने कार्य स्थानीय तहले गर्ने गरी आदेश जारी भएको छ । स्थानीय तहले नै सार्वजनिक स्थानमा वा सार्वजनिक सेवा प्रदान गर्दा खोप कार्डलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउने भनिएको छ ।

पालिका प्रेस
थप जानकारी