रामेछापको मन्थली नगरपालिकाले ६ वर्षभन्दा माथि उमेरका नागरिकको मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको छ । नगरपालिकाले गत ११ पुसदेखि मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा पालिकाका बासिन्दाको निःशुल्क रूपमा मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत हालसम्म नगरपालिकाभित्रका १७ हजार बढी नागरिकको मिर्गौला परीक्षण गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । मिर्गौला परीक्षणबाट १ हजार ३ सय जनाको मिर्गौला पुनः परीक्षण गर्नुपर्ने देखिएको स्वास्थ्य शाखाका प्रमुख केशव फुयालले बताए ।

पुनः जाँच गर्नुपर्नेमध्ये गत २८ र २९ पुसमा ४७२ नागरिकको पुनः मिर्गौला परीक्षण गरिएको छ । पुनः जाँच गराइएका ४७२ मध्ये २८३ जनाको मिर्गौलाको अवस्था सामान्य देखिएको छ भने १६१ जनामा सुगर र पिसाबमा समस्या देखिएको र २८ जनाको मिर्गौलामा केही मात्रामा समस्या देखिएकाले काठमाडौंमा उपचारका लागि सिफारिस गरिएको फुयालले जानकारी दिए ।

नगरपालिकाभित्र ११५ वटा स्वास्थ्य केन्द्रमा मिर्गौला परीक्षण अभियान सञ्चालन भइरहेको छ । ११ माघसम्म सञ्चालन हुने अभियान कोरोना संक्रमण जोखिमलाई ध्यानमा राखेर प्रत्येक खोप केन्द्रबाट दैनिक २५ जनाको दरले मात्र मिर्गौला परीक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख फुयालले बताए ।

पालिका प्रेस
थप जानकारी