मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले आर्थिक बर्ष २०७९÷८० को प्रगति विवरण सरोकारवालाको भेला गरेर सार्वजनिक गरेका छन् । गाउँपालिकाले वडा विकासका लागि बिनियोजन गरेको सिलिङ बजेट १ करोड १८ लाख र संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको ५ करोड १० लाख रुपियाँ कार्यान्वयन गरी भएगरेका विकास निर्माणका कामहरुको समिक्षा गरिएको अध्यक्ष अधिकारीले बताए ।

त्यसैगरी आन्तरिक आय तर्फ ५ नं वडामा ९ लाख ४२ हजार रुपियाँ संकलन गरिएको जानकारी कार्यक्रममा गराइएको थियो । समिक्षा कार्यक्रममा नेपाली काँग्रेसका बिष्णुप्रसाद उप्रेती, नेकपा एमालेका बलराम बस्नेत, नेकपा माओवादी केन्द्रका सुब्बा प्रसाद सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमबहादुर रुम्बा लगायत राजनीतिक दलका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी रिखेश्वर टोल विकास संस्थाका नवराज उप्रेती, चुरियामाई टोल विकास संस्थाका दीपक पण्डित, शिखर टोल विकास संस्थाका बीरबहादुर रुम्बा, बसन्तपुर टोल विकास संस्थाका गजाधर सुवेदी, दुग्देश्वर टोल विकास संस्थाका लालबहादुर स्याङ्तान, भोजसिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक महेश रिजाल, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन वडा सचिव विदुर पाठकले गरेका थिए ।

एक बर्षमा भएका कामहरुबारे सरोकारवालाहरुलाई जानकारी गराउँदा सूचनाको हक कार्यान्वयन भएको सरोकारवालाहरुबाट क्रिया प्रतिक्रिया आउनाले आगामी दिन अझ प्रभावकारी ढंगले अघि बढ्न मार्गदर्शन प्राप्त भएको वडाध्यक्ष अधिकारीले बताए । कार्यक्रममा सहभागी राजनीतिक दल तथा टोल विकास संस्थाका प्रतिनिधिहरुले अहिलेसम्म ५ नंम्बर वडामा कार्यान्वयनबारे वार्षिक समिक्षा नगरिएको अबस्थामा यसबर्षबाट नयाँ संस्कार सुरु गरिएको प्रति खुसी ब्यक्त गरेका थिए ।

-मनहरीलाइभ

पालिका प्रेस
थप जानकारी