मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा आगामी १४ मंसिर देखि २५ मंसिरसम्म सञ्चालन हुने चौथो थाहा महोत्सवका लागि स्टल बुकिङ खुलेको छ । थाहानगर उद्योग वाणिज्य संघमा आवद्ध भएकालाई ३० प्रतिशत छुट हुनेगरी स्टल बुकिङ खुला गरिएको हो । करिव २०० स्टल रहने अनुमान गरिएको महोत्सवमा स्टल बुकिङ गर्दा ५० प्रतिशत रकम अग्रिम भुक्तान गर्नुपर्ने थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ ।

संघद्वारा जारी सूचना अनुसार पशुपालन, डेरी, कृषि सामग्री तथा औजार, घरेलु हस्तकला, हर्वल तथा जडिबुटीका लागि १४ हजार शुल्क तोकिएको छ । त्यसैगरी कस्मेटिक, घडी, चश्मा, ब्लाङ्केट, व्याग, पर्स, बेल्ट, ट्याटु, मोबाइल कभर, जुत्ता, चप्पल, बैंक, वित्तीय संस्था, गैरसर कारी संस्था, भाँडा, फेन्सी तथा रेडिमेड सामानहरुका लागि २५ हजार शुल्क तोकिएको संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । बहुर्राष्ट्रिय उद्योग र होटल तथा रेष्टुरेन्टका लागि ५० हजार शुल्क तोकिएको छ । स्टलमा प्रदर्शकले स्टलको अतिरिक्त २ थान कुर्र्सी, १ थान टेबल तथा विद्युतीय सुविधा पाउने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघ र आयोजक थाहा नगरपालिका रहेको छ । गत असोज ३० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहानगर उवासंघलाई आगामी मंसिर १४ देखि २५ सम्म थाहा महोत्सव गर्न अनुमति दिएको थियो । मंसिर भन्दा पछाडि मेला महोत्सव गर्न थाहा नगरमा चिसो बढी हुने भएकोले दसैतिहार सकिएलगत्तै आयोजना गरिएको थाहा नगर उवासंघका बरिष्ठ उपाध्यक्ष शम्भुसिंह कार्कीले बताए ।

पालिका प्रेस
थप जानकारी