करको दायरा बाहिर रहेर व्यवसाय गरिरहेका हेटौंडा उपमहानगर पालिका क्षेत्रका व्यवसायीका लागि व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको छ । हेटौंडाको मुख्य बजार क्षेत्रभन्दा बाहिर वडाहरुमा रहेर बिनादर्ता व्यवसाय गरिरहेका व्यवसायीहरुका लागि सोमबारदेखि वडाहरुमा व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडाबाट सुरु भएको शिबिर सबै वडामा सञ्चालन हुनेछ । उपमहानगरको राजश्व परामर्श समितिले अनुगमका क्रममा वडाहरुमा दर्ता बिना नै व्यवसाय सञ्चालन गरी राजश्वको दायरा बाहिर रहेको पाइएपछि व्यवासय दर्ता शिविर सञ्चालन थालिएको सदस्यसमेत रहेका उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार आन्तरिक राजश्व र घरेलु कार्यालयमा दर्ता भएर व्यवसाय सञ्चालन गरेपनि उपमहानगरमा सूचीकृत नभएका व्यवसायीलाई दर्ताको लागि पछिल्लो तीन वर्षको शुल्क तिरेपछि व्यवसाय दर्ताको सुबिधा उपमहानगरले दिएको छ ।

अब व्यवसाय दर्ताको समय जति भएपनि पछिल्लो तीन वर्षको शुल्क तिरेर उपमहानगरमा व्यवसाय दर्ता गर्न पाउने सुबिधा उपमहानगरले दिएको उनले बताए । व्यवसाय दर्ता शिविरको हेटौंडा उपमहानगर पालिकाका नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी छन् ।

पालिका प्रेस
थप जानकारी