मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधीन थाहा बसपार्कमा आधुनिक टर्मिनल भवन २० कात्तिकमा एक समारोहबाकीच शिलान्यास गरिएको छ । साढे सात करोडको लागतमा निर्माण हुने बसपार्कको टर्मिनल भवनको नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिलान्यास गरेका हुन् ।

पहिलो चरणको कार्यक्रममा साढे सात करोडको लगानीमा टर्मिनल भवन, बगैचा, रेष्टुरेन्ट, सपिङ स्टल, अपाङ्गमैत्री शौचालय, सवारी चालकलाई आराम गर्ने कक्ष, ग्यारेज, प्रहरी बिट पक्की सडक, सडक बत्ती सहितका संरचनाहरु निर्माण गरिने निर्माणको ठेक्का पाएको सि एण्ड ब्रदर्स कन्स्ट्रक्शनका साइट इन्जिनियर नवराज खनियाले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले गुणस्तरीय भौतिक संरचनाको निर्माणमा जोड दिन आग्रह गर्दै निर्माण हुन लागेको संरचनाको सबैले निगरानी गर्नुपर्नेमा जोड दिएका थिए । उपप्रमुख गोपालीले निर्माणमा गुणस्तरीयता र समयमै निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको एकीकृत शहरी पुर्वाधार विकास अन्तर्गत ७ करोड २१ लाख लागत रहेको सो कार्य २०८१ भदौ २० गते सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ । योजना कायाृन्वयनका लागि वि.सं. २०७९ चैत २१ गते सम्झौता भएको हो ।

शिलान्यास कार्यक्रममा थाहा बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष राम बहादुर खत्री, बसपार्क व्यवस्थापन समितिका सदस्यहरु, अच्युत केसी, सुरेन्द्रमान प्रधान, अरुण लामा, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी