मकवानपुरको थाहा नगरपालिकामा ९ मंसिरबाट साताव्यापी ‘थाहा फिल्म फेस्टिवल, २०२३’ सुरु भएको छ । पर्यटनका लागि फिल्म फेस्टिबल भन्ने नाराका साथ थाहा कला केन्द्रले एक हप्ते ‘थाहा फिल्म फेस्टिवल, २०२३’ आयोजना गरेको हो ।

फिल्म फेस्टिवलको थाहा नगरको पालुङ जेसिज सभाहलमा उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले थाहानगरलाई फिल्म सिटीको रुपमा विकास गर्न पहल भईरहेको भन्दै उद्योगको स्थापना र विकासले रोजगारी वृद्धिसँगै समृद्धिमा सहयोग पुग्ने बताए । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेश सरकारले यसका लागि विस्तृत परियोजना प्रस्तावका लागि बजेट समेत विनियोजन गरेको छ । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले पालिकाले कृषि, पर्यटन, कला र मनोरञ्जनको क्षेत्रको विकासका लागि गतिविधि गर्दै आएको बताए ।

थाहा फिल्म फेस्टिवल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले मकवानपुरको उत्तरी क्षेत्रलाई फिल्म सिटीको रुपमा विकास गर्दै पर्यटन प्रवर्धनमा सहयोग पु¥याउन थाहा फिल्म फेस्टिवल आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, थाहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, फ्लोरिकल्चर एसोसिएसनका मिनबहादुर तामाङ, आयोजक समितिका सहसंयोजक राजीवकुमार स्याङ्तान, नेकपा माओवादी केन्द्र थाहा नगर समिति अध्यक्ष विनोदकुमार लामा, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीलगायतले थाहा नगरको कला, संस्कृति र पर्यटन क्षेत्रको विकासका बारेमा चर्चा गरेका थिए । कैलाश गाउँपालिकाका अध्यक्ष लोक मुक्तान तथा थाहानगरका उपप्रमुख भरत गोपालीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा थाहा कला केन्द्रका कलाकारहरुले विभिन्न भेषभूषाका नृत्य समेत गरेका थिए ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोगमा आयोजना गरिएको फिल्म फेस्टिबलको पहिलो दिन ९ मंसिरमा थाहा नगरको पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रर्दशनी गरिएको थियो। कार्यक्रममा कला र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विजय श्याम अमात्य, बाबु साहेब बलामी, वीरमान स्याङ्तान, सगुन तामाङ र केशव सापकोटालाई सम्मान गरिएको थियो।

फिल्म फेस्टिवलमा छ वटा चलचित्र, १६ वटा लघुचलचित्र र छ वटा वृत्तचित्र प्रदर्शनी गरिने भएको छ । डेसान, बुलबुल, ऐन झ्यालको पुतली, राधा, प्रकाश र आमा खाण्डोको प्रदर्शनी गरिने छ । ‘थाहा फिल्म फेस्टिवल, २०२३’ का उपसंयोजक राजीव कुमार स्याङ्तानबाट स्वागत मन्तव्य व्यक्त भएको कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई कदपत्र प्रदान गरिएको थियो भने अतिथीहरुलाई मायाँको चीनो वितरण गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी