कोदो । यो रैथाने जातको अन्न हो । पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको हो । यो फोटो, मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सेरोफेरोको हो ।

कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ । बनमारा र काँडाघारीले बारीमा साम्राज्य जमाएको छ । अनि शहर र बेशी झरेका किसानलाई निहुँ नै भएको छ–‘खोरियामा कोदो के रोप्नू बाँदरले खाइहाल्छ ।’ अहिले कोदोको बाला झुल्ने खोरियामा सिरु उम्रेको छ, झारैझार छ, अनि कहाँवाट फलोस् त कोदो । गाउँमा कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ ।

चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने स्वास्थ्यकमीृहरु बताउँछन् । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ ।

हेर्नुहोस कुन्छालमा कोदो भित्र्याउँदै कृषकहरुः

 

गणेश विष्ट
थप जानकारी