मकवानपुरको थाहा नगरपालिका र धादिङको थाक्रे गाउँपालिकाको महादेववेशी जोड्ने पक्की सडक (कालोपत्रे) का लागि धमाधम काम भैरहेको छ । काष्ठमण्डप कन्स्ट्रक्शनले ठेक्का पाएको उक्त सडकको कटिङ, नाला लगायतको काम द्रुत गतिमा भैरहेको थाहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हेम कुमार थिङले जानकारी दिए । अध्यक्ष थिङले निर्माणाधिन उक्त सडकको अनुगमन पश्चात् यस्तो प्रतिक्रिया दिएका हुन् ।

अनुगमन पश्चात् थाहा नगरपालिकाकै गौरबको रुपमा रहेको उक्त सडक सम्झौता अवधिमै निर्माण सम्पन्न हुने अध्यक्ष थिङले विश्वास व्यक्त गरे । अहिले दामगाडे मोरिया सडक खण्डमा काम भैरहेको छ । डाँडाबास–गैरीगाउँ–दामगाडे–मोरिया–महादेववेशी सडकलाई एकमुष्ट ९९ करोड ९८ लाख १५ हजार ७७७ विनियोजन भएकोमा धादिङ र मकवानपुर दुवैतिरबाट निर्माण थाल्ने गरी स्वीकृत बजेटको पचास–पचास प्रतिशत रकमको मकवानपुर र धादिङतर्फका लागि टेण्डर भई काम शुरु भएको हो ।

थाहा नगरपालिकाले पालिकाका नागरिकलाई राष्ट्रिय राजमार्गमा जोड्दै संघीय राजधानीसम्म सडक पहुँच विस्तार गर्न पालिकाको गौरवको योजनाको रुपमा उक्त सडकलाई आर्थिक वर्ष २०७८/०७९ मै राष्ट्रिय योजना आयोग समक्ष प्रस्ताव गरको थियो । यस सडक थाहा नगरपालिकाको वडा नम्बर ७, ८ हुँदै धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ३ मा जोडिनेछ भने थाक्रे २ नम्बर वडालाई समेत उक्त सडकले सहजता हुने वडाध्यक्ष थिङले बताए ।

कुल २७ किलोमीटर लामो सो सडकका लागि पहिलो वर्ष २० प्रतिशत काम सम्पन्न हुनेछ भने दोस्रो वर्ष ३५ र तेस्रो वर्ष ४५ प्रतिशत काम सम्पन्न गरी सडकलाई पूर्णता दिइने राष्ट्रिय योजना आयोग बागमती प्रदेशले जनाएको छ । वर्षेनी वर्खाको बेला यातायात सेवाबाट विच्छेद हुनुपर्ने थाहानगरको आग्रा क्षेत्रका बासिन्दाका लागि उक्त सडक योजना बरदान सावित हुने अध्यक्ष थिङको भनाइ छ । उक्त सडकको क्षेत्राधिकार दायाँबायाँ १५÷१५ मिटर रहेको छ ।

पालिका प्रेस
थप जानकारी