मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौर स्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडले ८ पुसदेखि त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरेको छ ।

सहकारी संस्थाले गाउँपालिकाबाट प्रति केजी मूल्य एकसय तोकिएकोमा सहकारी संस्थाले एकसय १० रुपियाँमा खरिद गरिरहेको छ । अनुदान रकम समेत थप गरी प्रति केजी १ सय १६ रुपैंयाको दरले कृषकहरुबाट फापर खरिद गरिएको सहकारीका व्यवस्थापक गुन्जरत्न लुङ्वाले जानकारी दिए । पहिलो दिनमा नै २१ जना कृषकहरुबाट २ हजार १७४ केजी फापर खरिद भएको सहकारीका सचिव अजय योन्जनले जानकारी दिए ।

सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले यस वर्षदेखि कृषकहरुबाट फापर संकलन शुरुवात गरेकोमा अनुमानित १० मेट्रिक टन खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए । गत वर्ष कृषकहरुले प्रति केजी ९० रुपैयामा विक्री गरेकोमा यस वर्ष गाउँपालिकाको अनुदान समेत थप गरि प्रति केजी १ सय १६ रुपैया पाएकोमा कृषकहरु खुशी व्यक्त गरेका छन् । फापर विक्री गर्ने कृषकहरु मध्ये मकवानपुरगढी ८ बुढिचौरका कृषक चन्द्र बहादुर लुङ्वाले सबैभन्दा बढी २ सय ६८ केजी फापर बिक्री गरेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नम्बर ८ का वडा अध्यक्ष कुमार सिं घिसिङ, वडा सदस्यद्वय गोकुल प्रसाद देवकोटा, सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा संकलनको कार्य शुरुवात गरिएको कृषि विकास अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीहरु र फापर विक्री गर्ने कृषकहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी