मकवानपुर थाहानगरमा सञ्चालनमा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष पदका लागि ४ जनाको उमेद्वारी परेको छ । उमेद्वारी दर्ता गराएका मध्ये तीन जना पूर्व अध्यक्ष हुन् भने एकजना मात्र पूर्व उपाध्यक्ष हुन् ।

उमेद्वारी दर्ता गराएका कृष्ण बहादुर विष्ट यसअघिको पुरुषोत्तम कार्की नेतृत्वको कार्यकालमा उपाध्यक्ष भएका शेयर सदस्य हुन् । उमेद्वार विष्णुहरि ढकाल वि.सं. २०५६ देखि २०६६ सालसम्म दुई कार्यकाल अध्यक्ष भैसकेका छन् । ढकाल सामुदायिक सञ्चार सहकारी संस्था पालुङको समेतका अध्यक्ष हुन् । उक्त सहकारीले रेडियो पालुङ सञ्चालन गरिरहेको छ ।

उमेद्वार विमल कुमार ढकाल पनि दुई कार्यकाल वि.सं. २०६६ देखि २०७५ सम्म संस्थाका अध्यक्ष भैसकेका छन् । उनी सहकारीकर्मीका साथै व्यवसायी हुन् । अर्का उमेद्वार पुरुषोत्तम कार्की वि.सं. २०७५ बाट २०७९ सालसम्म एक कार्यकाल अध्यक्ष भैसकेका शेयर सदस्य हुन् ।

२३ औं साधारणसभाबाट निर्वाचित उमेश ढकालको ६ महिने कार्यकाल पश्चात् रिक्त पदमा बाँकी करिब ६ महिना उपाध्यक्ष अरुण रायमाझीले कार्यकारी अध्यक्ष भई संस्थाको नेतृत्व गरेका थिए । संस्थाको २४ औं साधारणसभा पश्चात् अध्यक्षको निर्वाचन कार्यक्रम सार्वजनिक भएको हो । सहकारी ऐन, २०७४ अनुसार सहकारीको कोही पनि संस्थापक नहुने व्यवस्था छ । ऐनमा भनिएको छ–‘सहकारी संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सहकारीको सदस्य हुन् ।’

पालिका प्रेस
थप जानकारी