मकवानपुर थाहा नगरपालिका नम्बर ३ मा रहेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाले एउटा महिला विकास समूहसहित ३ जनालाई सम्मान गरेको छ । संस्थाको १९ औ साधारणसभाको अवसरमा ५ माघमा संस्थामा कारोबार गर्नेहरु मध्येबाट उत्कृष्ट कर्जा तर्फ सन्ध्या नेपाल, उत्कृष्ट बाल बचतमा प्राप्ति बिष्ट, उत्कृष्ट बचततर्फ रुपा केसी र उत्कृष्ट महिला विकास समूहतर्फ शुभकामना समूहलाई सम्मान गरिएको हो ।

सभामा प्रमुख अतिथी तथा थाहानगर प्रमुख बिष्णु बहादुर बिष्टले संस्थाले आर्थिक कारोबारलाई मात्र जोड नदिई थाहानगरमा हुने महिला हिंसाको विरुद्धमा पनि १९ वर्षदेखि निरन्तर लागिपरेकोमा सहकारीको प्रशंसा गरे । विष्टले आगामी दिनमा पनि महिलाको आर्थिकस्तर सुधार र नारी मनोसामाजिक कार्यमा अगाडी बढ्न अग्रणी भुमिका खेल्नु पर्ने बताउँदै यसका लागि स्थानीय सरकारको तर्फबाट सहयोग हुने उल्लेख गरे । सभामा सहकारीकी कोषाध्यक्ष कल्पना बिष्टले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाको सेयर पुँजी ३२ लाख १५ हजार ३ सय पुगेको र जगेडा कोष २ लाख ६२ हजार १ सय ७२ रुपैयाँ, बचत हिसाब १ करोड ३८ लाख ६५ हजार र ऋण लगानी १ करोड ५२ लाख १ हजार ५ सय रुपैयाँ रहेको बताइन् ।

सस्थाकी अध्यक्ष शकुन्तला गोपालीले सहकारीको नीति नियम भित्र रहि निःस्वार्थ रुपले कर्तव्य निष्ठ भइ संस्था अगाडि बढाउदै समाजको आर्थिक सामाजिक रुपान्तरणको अभियानमा सहकारी अडिग रहेको बताइन् । साधारण सभाका थाहानगरको ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, थाहानगर सहकारी शाखा प्रमुख अस्मिता तिवारी घिमिरे, पालुङ बहुउद्देश्यीय सहकारीकी सदस्य रिता कार्की, कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका सरोज रायमाझी, फरक सोचक अध्यक्ष यादवजंग रायमाझी, दामन चेली समाजका पुर्व अध्यक्ष जयन्ती रायमाझीलगायत स्थानीय संघसंस्थाका प्रमुखहरु शेयर सदस्यहरु, पत्रकारहरूको उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष शकुन्तला गोपालीको सभाध्यक्ष्तामा भएको कार्यक्रम सचिव मिरा खड्काले सञ्चालन गरेकी थिइन् ।