राप्ती खोलाको किनार र नदी उकास जमिन मकवानपुर र आसपासका जिल्लाका बासिन्दाहरुको वनभोज खाने र रमाइलो गर्ने स्थलमा परिणत हुँदै गएको छ । हरेक वर्ष दसैँपछिको शनिबार र बिदाका दिनमा मकवानपुरसँगै आसपासका जिल्लाका बसिन्दाहरु मकवानपुरको भीमफेदी गाउँपालिका पर्ने सामारी खोलादेखि भैंसेसम्मको खोलाको बगरमा जम्मा भएर वनभोज गर्ने ठूलै संख्यामा पुग्ने गरेका छन् ।

सामरी, बाघझोरा, त्रिखण्डीलगायतका राप्ती खोला किनारका बगरमा अन्य बिदाका दिन जस्तै शनिबार पनि मकवानपुरसँगै तराईका जिल्लाबाट वनभोज र रमाइलो गर्नेहरु आइपुग्छन् । रमाइलो गर्न व्यक्तिगत मात्र होइन टोल छिमेक मिलेर त कतिपय संस्थागत रुपमा गैरसरकारी तथा सहकारी संस्थालगायत बाट आउने गरेको पाइन्छ । संस्थागत रुपमा पिकनिकदेखि साधारणसभा गर्नेहरुको समेत रोजाइको स्थल भन्दै गएको छ अहिले खोलाको बगर ।

शनिबार बाघझोरा, त्रिखण्डीलगायतका स्थानमा नाचगान, खानपिनमा त कोही सुखदुःखको कुरा आदानप्रदान गर्न व्यस्त हुन्छन् । त्रिखण्डी नजिकै रहेको बगरमा पिकनिक सेडसहित वनभोजका लागि आउनेहरुको सहजताका लागि पानी, शौचालय, विश्रामस्थललगायतको व्यवस्था गरिएको छ । उक्त स्थललाई पार्क अवधारणामा पालिका, सामुदायिक वन र स्थानीयले विकास गर्दै लगेका छन् ।

-गोर्खापत्रबाट

पालिका प्रेस
थप जानकारी