धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर १ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा उद्योग मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल तथा महालक्ष्मीका नगरप्रमुख पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले हस्ताक्षर गरे । सम्झौताअनुसार औद्योगिक ग्राम निर्माण गर्न उद्योग मन्त्रालयले महालक्ष्मी नगरपालिकालाई ९२ लाख रुपैयाँ उपलब्ध गराउनेछ । मन्त्रालयबाट प्राप्त बजेट जग्गा विकाससम्बन्धी काम, औद्योगिक ग्रामका लागि आवश्यक मार्ग निर्माण, प्रशासनिक भवन निर्माणलगायतमा खर्च गर्नुपर्नेछ ।

सम्झौता भएको १५ दिनभित्र नगरपालिकाले विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) थाल्नेछ । तीन महिनाभित्र डिपिआरको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्नेछ । छरिएर रहेका साना उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न औद्योगिक ग्रामले सहयोग पु¥याउनेछ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरबासीलाई स्वरोेजगार बनाउन औद्योगिक ग्राम निर्माण थालिएको नगरप्रमुख नेपालले जानकारी दिए । ‘नगरबासीलाई उत्पादनमूलक क्षेत्रमा जोड्दै उद्योग व्यवसाय क्षेत्रलाई व्यवस्थित गर्न औद्योगिक ग्राम निर्माण गर्न लागेका हौँ,’ नगरप्रमुख नेपालले भने, ‘उद्योग मन्त्रालयसँग सम्झौता भइसकेको छ । अब औद्योगिक ग्राम निर्माणको काम सुरु हुन्छ ।’

औद्योगिक ग्राम निर्माणका क्रममा पूर्वाधार विकास र संरचना निर्माणमा भएको प्रगतिको प्राविधिक प्रतिवेदनका आधारमा मन्त्रालयले थप बजेट उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी