लगातार तेस्रो वर्षसम्मको कोरोना महामारीका कारण जुम्लाका उद्योग, कलकारखाना प्रभावित भएका छन् । जुम्लाको एक मात्र राडीपाखी उद्योग पनि बन्द भएको छ । कच्चा पदार्थ अभावका कारण उद्योग बन्द भएको हो । महिनाैँ देखि उत्तरी नाका चीन बन्द भएकाले ऊन आयात हुन सकेको छैन । ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योग बन्द भएको सञ्चालक कुन्जाङ फुटिक तामाङले बताइन् ।

चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुँदै आएको थियो । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चा पदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नुपरेको उनले जानकारी दिइन् । २ वर्षदेखि उद्योगको काम ठप्प छ । जुम्ली भेडाको कालो र सेतो ऊनबाट बन्ने सामग्रीको माग बढ्दो छ । जुम्ली भेडाको ऊन छोटो हुने भएकाले अलि झन्झटिलो छ । चीनबाट आउने ऊन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने गर्थे । आउन नपाएपछि उद्योग बन्द भएको हो ।उनले भनिन्, ‘माग अत्यधिक छ । कच्चा पदार्थ संकलन हुन सकेको छैन । उद्योग नचल्दा घाटा बेहोर्नु परिरहेको छ ।’ चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग संकटमा परेको उनले बताइन् ।

चीनको नाका खुलाउन सरकारले कुनै चासो देखाएको छैन । पछिल्लो समय जुम्लामा पनि भेडाको ऊन लोपोन्मुख भइरहेको छ । उनले थपिन्, ‘गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ । चीनको नाका खुलाएर चाँडो कच्चा पदार्थ ल्याउने वातावरण बनाइदिनुपर्छ ।’ चन्दननाथ नगरपालिका वडा नम्बर २ की तामाङले लोपोन्मुख राडीपाखी बेचेरै वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएकी थिइन् । वर्षमा कच्चा पदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी १५/२० लाख रुपैयाँको कारोबार हुने गरेको थियो । ५ लाख रुपैयाँ फाइदा हुन्थ्यो ।

सरकारी अनुदानको नाममा आर्थिक वर्ष ०७५/७६ मा पशु सेवा कार्यालयबाट साढे ३ लाख रुपैयाँ मात्रै पाएकी कुन्जाङले अहिलेसम्म कतैबाट कुनै सहयोग नपाएको गुनासो गरिन् । ‘महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म नाफा हुन्छ । यसैबाट घर खर्च चलेको छ । माग दैनिक बढ्दै गए पनि कच्चा पदार्थ नहुँदा समस्या भएको छ,’ उनले भनिन् । उनले उद्योग बन्द हुनुअघि नियमित ५ जना र ज्यालादारीमा १०–१२ जनालाई रोजगारी दिएकी थिइन् । ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाएबापत २ हजार र राडीपाखी बुनेबापत २ हजार ५ सय रुपैयाँ दिइरहेको उनले बताइन् ।

उत्पादित सामग्रीले जिल्ला तथा क्षेत्रीय स्तरका प्रदर्शनीमा समेत राम्रो स्थान पाइरहेका थिए । यो उद्योग सरकारी अधिकारीदेखि जुम्ला भित्रिने अधिकांश आन्तरिक पर्यटकले समेत अवलोकन गर्थे । ‘जुम्लामा राडीपाखीको उद्योगको निकै सम्भावना छ’, उनले भनिन्, ‘इच्छाशक्ति र साधन–स्रोत अभावले समस्या भएको छ । सरकारले आवश्यकताअनुसार अनुदान दिए महँगोमा समेत कच्चा पदार्थ आयात गरेर उद्योग चलाउन सकिन्थ्यो ।’

 

पालिका प्रेस
थप जानकारी