मकवानपुरको पर्यटकीय नगरी थाहाको विभिन्न पदमार्ग मध्येको ‘टिष्टुङ–कुन्छाल’ पदमार्गमा ह्याप्पी हाइकर समूले पदयात्रा गरेका छन् । नगरकै आकर्षणको रुपमा रहेको कुन्छाल गाउँलाई केन्द्र बनाएर पदमार्गको रुट तय भएको यहाँ पर्यटकहरुका लागि फरक अनुभूति बटुल्न सकिन्छ । यहि अनुभवसहित ह्याप्पी हाइकर समूहले पदयात्रा गरेका हुन् ।

यस पदमार्गमा यात्रा गर्न कुन्छाल गाउँबाटै वा नजिकैको सरस्वती बजारबाट शुरु गर्न सकिन्छ । ह्याप्पी आइकरले भने २७ माघ शनिबारको पदयात्रा थाहानगरको बज्रवाराही बजारबाट आरम्भ गरे । उनीहरु बज्रवाराही बजारबाट वाराहीचौर हुँदै नासपाति बगैँचा भ्रमण, कुन्छाल गाउँ अवलोकन, कुन्छालको गणेश मन्दिर दर्शन पश्चात् टिष्टुङ बनस्पतिको उद्यानमा पुगेका थिए । उद्यानमा विश्रामसहित ग्रामिण क्षेत्र र प्रकृतिको मनोरमताको यहाँबाट अवलोकन गर्न सकिन्छ ।

वनस्पती उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम, खेतीपातीको अवलोकन गर्दै गौखुरेश्वर महादेवको दर्शन यहि रुटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि ह्याप्पी आइकरको टोलीलाई अध्याय रिसोर्टले निःशुल्क जुस र पानीको व्यवस्था गरेको थियो । आफ्नो क्षेत्रमा आएका पर्यटकहरुलाई रिसोर्टले स्वागत र यस क्षेत्रको परिचय गराएको टोलीका गणेश विष्टले बताए । सोही रुटमा पर्ने उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गर्न भ्याएका टोलीलाई कोत दरबारको अवलोकनले ऐतिहासिक थलोको परिचय गराएको थियो ।

थाहानगरकै प्रमुख शक्तिपिठको रुपमा रहेको वाराही मन्दिर र संगैको चौरबाट पैदल जंगल सफारीको आकर्षण रहेको यस पैदल मार्गमा प्रकृति र पाहुनाको लुकामारी जस्तै भएको थियो । वाराही मन्दिरबाट उकालो लागेर पुगिने वाराही डाँडामा पुगेपछि पैदलयात्रीहरु सुस्ताउँदै सबै थकान मेटिएको अनुभव सुनाउँथे । निकै मनोरञ्जनात्मक र साहसी पैदल यात्री जस्तै अनुभव गर्न सकिने यस पदमार्गको दुरी करिब १६ किलोमिटर रहेको छ ।

वाराही डाँडाबाट पुनः जंगल सफारीसंगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । राजाराम फुयाँलको नेतृत्वको ह्याप्पी हाइकर समूहले २७ माघमा ३२ यात्रीले यो यात्रा पूरा गरेको छ । उनीहरु पदमार्गको यात्रा सकेपछि टिष्टुङ कटेजमा मौलिक र रैथाने खानाको स्वादसंगै विदा भएका छन् । फोटोग्राफर गणेश बिष्ट र कुन्छालका शिक्षक निराजन गोपालीले परिकल्पना गरेको ‘टिष्टुङ–कुन्छाल’ पैदलमार्ग अब तपाइ कहिले जाने त ?

ह्याप्पी हाइकर समूहको पदयात्राका केही फोटोः

 

 

गणेश विष्ट
थप जानकारी