मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले वर्तमान सरकारले शिक्षा क्षेत्रमा चाहिने जति बजेट विनियोजन गर्न पनि कन्जुस्याइ गरेकै कारण शिक्ष क्षेत्रको सुधार हुन नसकेको बताएका छन् । सांसद बर्तौलाले शिक्षा ऐन, २०२८ ले शिक्षा क्षेत्रका सबै सवाल समेट्न नसकेकोले नयाँ शिक्षा ऐनले शिक्षाको समस्यालाई सम्बोधन गर्ने बताए ।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा फर्सिखेलमा रहेको बज्रवाराही माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सांसद बर्तौलाले यस्तो बताएका हुन् । कार्यक्रममा विद्यालयले तीन दिनदेखि विविध कार्यक्रमका साथ मनाउँदै आएको ७० औं वार्षिकोत्सवको विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुको विजेताहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । सो अवसरमा विद्यालयलाई विविध समयमा सहयोग गर्ने संघसंस्थाहरुलाई पनि प्रशंसापत्र र दोसल्ला ओढाई सम्मान गरीएको थियो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयले बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि., साना किसान कृषि सहकारी संस्था लि., प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लि., बलम्बु च्याउ सहकारी संहकारी संस्था लिमिटेडलाई संस्थागत सम्मान गरेको छ । त्यसैगरी चन्दादाताहरु रामकृष्ण लामिछाने, श्याम राजा सिंह ठकुरी र विक्रम जोशी, सुरेन्द्र गोपाली र तिलक बहादुर लामालाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्पना बलामीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य सुवर्ण गोपाली, थाहानगर वडा नम्बर ६ वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, ५ नम्बर वडाध्यक्ष बिष्णु बहादुर गुरुङ, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सुरेन्द्र थापा मगर, समाजसेवी महेश्वर सुवेदीलगायतकाको आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलसहित शिक्षकहरु, विद्यालय व्यवस्थापन समिती पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, पूर्व विद्यार्थी, अभिभावक जनप्रतिनिधि, विद्यार्थीहरुलगायतको उपस्थिती रहेको वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम र शैक्षिक प्रदर्शनी समेत गरेका थिए ।

 

पालिका प्रेस
थप जानकारी