हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० मा कम्प्लेक्स निर्माणका लागि तयार भएको करिब ६६ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गर्ने निर्णय गरेको छ । १६ फागुनको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरको गौरवको योजनाअन्तर्गत नगर विकास कोषसँग ऋण लिई निर्माण गर्न लागेको कम्प्लेक्सको डीपीआर स्वीकृत गर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नगरको गौरवको आयोजनाका रुपमा कम्प्लेक्स निर्माणलाई अघि सारेको जनाइएको छ । कार्यतालिकाअनुसार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिएको हो । कार्यपालिका बैठकले १४ वटा बुँदामा विभिन्न निर्णय गरेको छ । अघिल्लो कार्यपालिका बैठकमा भएका निर्णय कार्यान्वयनमा समीक्षा गर्नुका साथै उपमहानगर कार्यपालिका बैठक आवश्यकता अनुसार प्रत्यक्ष प्रसारण गर्ने, प्रवक्ता मार्फत निर्णय सार्वजनिक गर्ने, सार्वजनिक सुनुवाई, नगर स्थापना दिवस, नगर सभालगायतका विशेष महत्वका कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरिएको छ ।
उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने क्रममा हालसम्म भएको प्रगतिको समीक्षा गरी बालबालिकाको लागि पञ्चवर्षीय आवधिक योजना २०८०÷८१ देखि २०८४÷८५ सम्मको वडा नं. १० र १५ को स्वीकृत गर्ने निर्णय गरेको नगरप्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । उपमहानगरको गौरवको योजनाअन्तर्गत नगरविकास कोषसँग ऋण लिई हेटौंडा–१० मा हेटौंडा कम्प्लेक्स निर्माणको लागि तयार भएको करिब ६६ करोडको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्ने, सहरी विकास मन्त्रालयबाट सघन सहरी विकास कार्यक्रमअन्तर्गत प्राप्त २५ करोड बराबरको विभिन्न परि योजना कार्यान्वयन गर्न सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनबाट प्राप्त विस्तृत परियोजना प्रतिवदेन संशोधन गर्नको लागि अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता न्यौपानेले बताए ।

उपमहानगरको सबै वडामा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने परियोजनाको सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्नुपर्ने भएको हुँदा वडा कार्यालयसँग त्यस्ता परियोजना सात दिनभित्र माग गरी विस्तृत परियोजना प्रतिवेदन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । उपमहानगर द्वारा सञ्चालित आयोजना तथा कार्यक्रम सञ्चालन गर्ने क्रममा विभिन्न कारणले सुरु लागत अनुमान भन्दा फरक भई भेरिएशन भएमा त्यस्तो भेरिएशनको अध्ययन गरी प्रतिवेदन पेश गर्न हेटौंडा–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जन संयोजक, हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, हेटौंडा–८ का वडाअध्यक्ष रामकृष्ण थापा सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । खानेपानी व्यवस्थापन वोर्डले उपमहानगरको साझेदारीमा सञ्चालन भएका आयोजनाबाहेक उपभोक्ता समितिमार्फत सञ्चालित योजनाको कार्यान्वयन अवस्थाको अध्ययन गरेबापत सम्झौता बमोजिमको ३० प्रतिशतमा हुन आउने रकम २ लाख ६१ हजार रुपैयाँ वोर्डलाई भुक्तानी दिने लगायतको निर्णय गरेको छ ।

पालिका प्रेस
थप जानकारी