पूर्वी मकवानपुरको बागमती गाउँपालिका–५ मा नवनिर्मित लिफ्ट सिंचाईको उद्घाटन भएको छ । १७ फागुनमा एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष सर्केश घलानले लीलावन लिफ्ट सिंचाईको उद्घाटन गरेका हुन् ।

सिंचाई सेवाको उद्घाटन गर्दै अध्यक्ष घलानले खेतीयोग्य जग्गाहरु खाली नराखी सबै जग्गामा उत्पादन हुने अन्नबाली, फलफूल र तरकारी लगाउन सुझाव दिए । उनले उत्पादित अन्नबाली, फलफूल र तरकारीहरु बिक्रीका लागि समस्या भएमा बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बागमती–५ का वडाध्यक्ष विजयी भोलनका अनुसार वडाको ५ लाख रुपैयाँ र बागमती प्रदेश सरकारको १० लाख रुपैयाँमा निर्मित सिंचाईको उद्घाटन भएको हो । बागमती नदीको पानी करिब ८० मिटरभन्दामाथि उचाइमा लिफ्टमार्फत् तानेर सिंचाई गरिने उनले बताए ।

हिउँदको समयमा सधैँ उजाड रहने माटोमा सिंचाई सुविधा भएपछि कृषिउत्पादन बढ्ने उनको भनाइ छ । सिंचाईले १ सय घरधुरीका किसान लाभान्वित हुने वडाध्यक्ष भोलनले बताए । सिंचाई आयोजना निर्माणका लागि योगेश थोकरको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना र वडा नम्बर ४ का वडाअध्यक्ष दन्तलाल माझीसहित स्थानीयको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी