मकवानपुरका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा क्रियाशील तीन अगुवा कृषक जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । जिल्लाको थाहा नगरपालिका वडा नम्बर. ७, डाँडाबास कृषि प्रालि मार्फत बाख्रा पालन गरिरहेका इमान सिं थिङ, मनहरी गाउँपालिका–७, रमौलीमा रवि व्यवसायिक कृषि फार्ममार्फत् कागती खेती गरिहरहेका मुना अर्याल र हेटौँडा–१७ स्थित विविआर एग्रो प्रालिमार्फत् वोयर जातको बाख्रा पालन गरिरहेहका कृषक झंकनाथ सुवेदी पुरस्कृत हुनुभका हुन् ।

तीनै जना कृषकलाई पशु सेवा कार्यालय हेटौँडा मकवानपुरले २९ फागुनमा एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि छनोट भएका कृषकलाई २५ हजार रुपियाँ नगदसहित सम्मान गरे । जिल्ला समन्वय समितिको संयोजकत्वमा चितवन ज्ञान केन्द्र सदस्य सचिव र पशु सेवा कार्यालय हेटौँडा मकवानपुर सदस्य रहेको समितिले बनाएको जिल्लास्तरीय उत्कृष्ट कृषक छनोट विधि अनुसार उत्कृष्ट ठहरिएका कृषकलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारका लागि जिल्लाभरबाट ११ वटा प्रस्ताव दर्ता भएका थिए । तीमध्ये तीन कृषकलाई बनाइएको मूल्याङ्कनका विभिन्न मापदण्ड अनुसार छनोट गरिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिए ।
पुरस्कार प्राप्त गर्ने डाँडावास कृषि प्रालिले बाख्रा पालनका साथै व्यवसायीक तरकारी खेती गर्दै आइरहेको छ । दुई पुस्तादेखि कृषि कार्यगर्दै आएको सञ्चालक इमान सिं थिङले बताए । उनको परिवारले ६० वटा खरिजात, जमुना पारी र वोयर जातको बाख्रा पालन गर्नुका साथैं पालुङमा मुला, बन्दा, काउली, आलुलगायतका तरकारी व्यवसायिक रुपमा गर्दै आएका छन् । उनले ४० रोपनीमा कृषि कर्म गर्नुभएको छ भने बाख्राको लागि जैं घास, सुपर नेपिएर, धुधिलो घाँस लगाएका छन् । उनले कृषि र बाख्रा पालनबाट बार्षिक करिव १४ लाख रुपियाँ आम्दानी गर्दै आएका छन् ।

त्यस्तै रवि व्यवसायीक कृषि फार्ममार्फत् २०६७ सालदेखि एकसय पाडापालनबाट सुरुवात गर्नुभएका अर्याललये २०६८ सालमा कुखुरा पालनदेखि कागती खेती, ड्रागन खेती गर्दै आएका छन् । करिव १२ कठ्ठा क्षेत्रफलमा सुन कागती, ड्रागन, कुरिलो खेती गर्दै आउनुभएका अर्यालले ५ जनालाई रोजगारी समेत दिएका छन् । उनले करिब एक करोड लगानीमा कृषि कर्म गर्दै आएका छन् । उनले अर्गानिक खेती समेत गरेका छन् । वार्षिक २० लाखसम्मको कारोवार गर्ने अर्यालले वार्षिक ६ लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।

विविआर एग्रो प्रालिका सञ्चालक झंकनाथ सुवेदीले बोयर जातको बाख्रापालन गर्दै आएका छन् । उनले व्यवसायीक रुपमा गर्नुभएको फर्म मार्फत बोयर जातको पाठापाठी उत्पादन गरेर बिक्री बितरण गर्दै आएका छन् । कुखुरा पालनबाट कृषिको व्यवसायीक यात्रा सुरु गर्नुभएका सुवेदी वल्र्डफ्लुले सबै कुखुरा मरेपछि बाख्रा पालन व्यवसायमा लागेका हुन् । उनले अष्ट्रेलियाबाट वोयरजातको बोका ल्याएर बाख्रा पालन व्यवसाय सुरु गरेका छन् । उनले देशको ६५ जिल्लामा वोयरजातको बोका बिक्री गरेको बताउँछन् । सुवेदी युवा कृषक हुन् ।

पालिका प्रेस
थप जानकारी