मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार दिने योजनामा एकजनाको पनि निवेदन नपरेको पालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ बाट राक्सिराङ गाउँपालिकाले बसाइँसरी राक्सिराङ आउनेलाई प्रतिघर ५ लाख रुपैयाँ पर्ने कम्तिमा दुईकोठे घर निर्माण गरिदिने निर्णय गरेको थियो ।

गाउँपालिकाको तथ्याङ्क अनुसार हालसम्म एकजना पनि राक्सिराङमा बसाइ सरी गएका छैनन् । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रममा अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँसरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । यतिबेला विकास गाउँमा पुगेको छ तर, मानिसको बसाई सहरकेन्द्रित बन्दै गएको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुने बताइएको थियो । सोही निर्णयअनुसार नै गाउँपालिकाले गत फागुन १६ मा राक्सिराङ गाउँपालिकाम बसाइँ आउनेलाई घर उपहार कार्यक्रम सम्बन्धी १५ दिने सूचना जारी गरि एको थियो ।

घर उपहारका लागि पालिकाले विभिन्न मापदण्ड बनाएको थियो । तर, सूचना जारी गरेको म्याद सकिँदासम्म एकजना पनि घर उपहार लिन नआएको गाउँपालिकाका शाखाअधिकृत गोविन्द अधिकारीले बताए । फोन सम्पर्क गरेर बुझ्नु भएको थियो । हामीले त्यसका लागि सबै मापदण्डबारे जानकारी गरायौं । उनले भने,–‘उहाँले पनि निवेदन दिन आउनु भएन ।’ गाउँपालिकामा बसाइँसरी आउने भन्दा जाने धेरै रहेको उनको भनाई छ । अधिकारीका अनुसार गाउँपालिकाबाट हरेक वर्ष १ सय ८५ जनाभन्दा धेरै बसाइँसरी जाने गरेको छ । घर उपहार दिँदा पनि बसाइँसरी नआउनु दुःखद भएको राक्सिराङ गाउँपालिका अध्यक्ष र मल्लले बताए ।

सबैजना सहरमुखी हुनका साथै सुविधा खोज्ने बहानामा सुगमक्षेत्रमा बसाइँसरी जाने गरेको बताए । हरेक वर्ष गाउँपालिकाबाट धेरै मात्रामा बसाइँसराइँ हुने गरेको र त्यसलाई रोक्न गाउँपालिकाले घर उपहार दिने निर्णय गरेपनि एकजना पनि नआएको अध्यक्ष मल्लले बताए । दुर्गम क्षेत्रमा जति विकास भएपनि सुविधा छैन भन्ने मानसिकताले पनि बसाइँसराई हुने गरेको उनको भनाई छ । ‘विगतको तुलनामा हेरेर गाउँपालिकामा धेरै विकास भएको छ । विगतमा सिटामोलसम्म नपाईने पालिकामा अस्पताल बनेको छ । हरेक वडामा स्वास्थ्यचौकी निर्माण भएको छ । मावितहसम्म पढाई हुने गरेको छ भने पालिकामा बाटोघाटो निर्माण हुनका साथै खानेपानीको सुविधाहरु पुगको छ । अध्यक्ष मल्लले भने,– ‘दुईवटा वडाबाहेक सबै वडामा बिजुली पुगेको छ । अहिले दुःख गर्न नचाहने सहरमुखी हुँदा र ऐलानी जग्गामा भएपनि अन्यत्र बसाइँसरी जाने हुँदा यस्तो अवस्था सिर्जना भएको हो जस्तो लाग्छ ।’ अध्यक्ष मल्ले राक्सीराङ गाउँपालिका भन्ने बित्तिकै दुर्गम गाउँपालिका सोच्ने र पालिकामा पछिल्लो समय धेरै विकास भइसकेको भन्ने जानकारी नहुँदा पनि बसाइँसरी आउनेको संख्या शुन्य रहेको बताए ।

पालिका प्रेस
थप जानकारी