धादिङको नीलकण्ठ नगरपालिकामा औद्योगिक ग्राम निर्माण हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित रामकोट घिउरिनटारमा ५० रोपनी सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापना गर्न नगरपालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहमति भएको हो ।

१४ करोड रुपैयाँ लागतमा बन्ने औद्योगिक ग्राम स्थापनाका लागि सम्झौतापत्रमा नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले हस्ताक्षर गरे ।

उद्योग ग्राम स्थापनाका लागि गत ३० पुसमा बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ । औद्योगिक ग्राम स्थापनाबाट स्थानीय कच्चा पदार्थमा आधारित साना, घरेलु, मझौला तथा ठ्रूला उद्योग स्थापना गरी युवा रोजगारी, उद्यमशीलताको विकासमा नीलकण्ठ नगरपालिका र धादिङकै आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा राखिएको छ । आयोजनाका लागि चालू आर्थिक वर्षमा पूर्वाधार विकास गर्न पहिलो किस्ताबापत ९२ लाख रुपैयाँ उपलब्ध गराउने सचिवस्तरीय निर्णयसमेत भएको छ ।

पालिका प्रेस
थप जानकारी