उदयपुरको चौदण्डीगढी नगरपालिकामा अत्याधुनिक सम्पन्न नगर अस्पतालको शिलान्यास गरिएको छ । नगर अस्पताल भवनको परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिलान्यास गरे । चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित साकेला चोकमा सुविधा सम्पन्न भवन बन्न लागेको हो । करिब ५ कठ्ठा क्षेत्रफलमा साढे तीन तले भवनमा १५ शय्याको अस्पताल निर्माण हुनेछ ।

करिब १२ करोड ४३ लाख ७७ हजार ५ सय ४२ रुपैयाँ लागतमा निर्माण हुने नगर अस्पताल सुविधासम्पन्न बनाइने इन्जिनियर सन्तोष राईले जानकारी दिए । सरकारको ससर्त अनुदानबाट निर्माण हुन लागेको नगर अस्पताल ३० पुस ०७८ मा सम्झौता भई २५ जेठ ०८० भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको छ । करिब १७ महिनामा निर्माण सम्पन्न गर्ने गरी ओमबुद्ध गल्वा जेभीले निर्माण जिम्मा लिएको छ । भवन निर्माणपछि नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउनेछन् । संघीयताको कार्यान्वयनसँगै चौदण्डीगढीले स्थानीय स्तरमा नगर अस्पताल बनाउन लागेको हो ।

अस्पताल शिलान्यास अवसरमा परराष्ट्रमन्त्री खड्कासँगै प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, नगरप्रमुख खगेन्द्र राई, उपप्रमुख रीताकुमारी चौधरी सहभागी थिए । कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले गाउँ–गाउँमा सुविधासम्पन्न अस्पताल निर्माणले नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गरेको बताए । चौदण्डीगढी नगरपालिकाको कोभिड अस्पताल व्यवस्थापन र परिचालन प्रशंसायोग्य रहेको मन्त्री खड्काले जानकारी दिए । ‘कोभिड–१९ लागेका बिरामीलाई उद्दार गर्ने स्थान अभाव भइरहेका बेला चौदण्डीगढीमा कोरोना अस्पताल सञ्चालनमा ल्याइनु आफैंमा राम्रो काम थियो’, परराष्ट्रमन्त्री खड्काले भने ।

पालिका प्रेस
थप जानकारी