बाजुराको हिमाली गाउँपालिकाले धुवाँरहित सुधारिएको चुलो वितरण गरेको छ । पालिकाको वडा नम्बर ३ र ४ का दलित एवं जनजाति तथा विपन्न समुदायका १ सय २७ परिवारलाई धुवाँरहित सुधारिएको फलामे चुलो वितरण गरेको हो । पालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा उक्त परिवारलाई चुलो वितरण गरेको पालिका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए ।

दुर्गम तथा पिछडिएको क्षेत्रका स्थानीयको सहजताका लागि केन्द्रको सहकार्यमा सुधारिएको चुलो वितरण गरिएको उनको भनाइ छ । परम्परागत चुलो विस्थापित गर्न, विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई दाउरालगायत अन्य इन्धनको खपत कम गर्ने उद्देश्यले सुधारिएको फलामे चुलो वितरण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । दाउरा प्रयोग गरी छिटोछरितो र धुवाँरहित घरको वातावरणमा खाना पकाउन सकिने, चिसो स्थानमा समेत घर तताउन उत्तम हुने र दम, मुटु, छातीलागयत दीर्घरोगी विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन उक्त चुलोले सहयोग पुग्ने उनको भनाइ छ ।

पालिकाको पहलमा विभिन्न दलित बस्तीमा यसअघि नै धुवाँरहित सुधारिएको चुह्लो वितरण गरिसकिएको र बाँकी बस्तीमा आगामी दिनमा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी