सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८०–८१ मा १७ करोड ७८ लाख १७ हजार राजस्व संलन गरेको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरी रु १७ करोड ७८ लाख १७ हजार राजस्व संकलन गरेको हो ।
पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारी गति निगरानी गरिरहेको र सो क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख २८ हजार दुई सय दुई सवारीमाथि कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए । सो अवधिमा बागमतीका १० जिल्लामा भएको एक हजार पाँच सय ३६ सवारी दुर्घटनामा तीन सय १५ जनाको मृत्यु भएको छ भने तीन हजार एक सय ९९ जना घाइते भएको उनले बताए ।
ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले गत आर्थिक वर्ष २०७९–८० मा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व संलन गरेको थियो । सो आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चारजनाको मृत्यु भएको थियो । त्यसअघि आव २०७८–७९ मा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख ५० हजार नौ सवारीमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो । क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिनाहेलमेट र तीनजना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उउपरीक्षक खाणले बताए ।
प्रतिक्रिया दिनुहोस्