
मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ४ को पर्यटकीय क्षेत्र सिमभन्ज्याङमा राष्ट्रिय झण्डोत्तोलन गरिएको छ । जिल्लाकै सर्वाधिक उचाईमा १२ साउनमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झण्डोत्तोलन गरिएको हो । थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख अतिथि आतिथ्यतामा झण्डोत्तोलन गरिएको हो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख भरत गोपालीसहित जनप्रतिनिधि, सञ्चारकर्मी, स्थानीयको उपस्थिति रहेको थियो ।
राष्ट्रिय झण्डा हेटौंडा उपमहानगरपालिका १० टिसिएन रोड बस्ने दिनेश डंगोलको व्यक्तिगत आर्थिक सहयोग र ऋषेश्वर टोल विकास संस्था तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिको सक्रियतामा निर्माण गरी झण्डा राखिएको टोल विकास संस्थाका सचिव अमित पाख्रीनले जानकारी दिए ।
ऋषेश्वर टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र थोकरको अध्यक्षतामा सम्पन्न झण्डा उत्तोलन कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा, थाहा वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, कार्यपालिका सदस्य चन्द्रमाया बल, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, रोजगार संयोजक कुमार नेगी, बजार व्यवस्थापन समिती सिमभन्ज्याङका अध्यक्ष आनन्द भुजेल, झण्डा निर्माण दाता दिनेश डंगोललगायतको उपस्थित रहेको थियो।
कार्यक्रममा नगर प्रमुख बिष्टले स्थानीय युवाहरुको सक्रियतामा सिमभन्ज्याङको पर्यटन व्यवसायमा विस्तारै नयाँ युगको सुरुवात भएको जनाउदै दामन सिमभन्ज्याङको पर्यटन व्यावसायलाई चलामायन बनाउन यस्ता भौतिक संरचना निर्माण हुँदै जानुपर्नेमा जोड दिए। कार्यक्रममा झण्डा निर्माण गर्न आर्थिक सहयोग गर्ने हेटौंडा १० का दिनेश डंगोललाई ऋषेश्वर टोल विकास संस्थाले सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो। यसअघि हेटौंडाकै समाजसेवी सिद्दिलाल श्रेष्ठको सहयोगमा सिमभन्ज्याङमा १८ फिट अग्लो बुद्धको मुर्ती स्थापना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्