प्यूठानको ऐरावती गाउँपालिकाका एक दम्पतीले दुई वर्षदेखि दुई ठाउँबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । यहाँका पन्नालाल सुनार र बच्चीदेवी सुनार दम्पतीले २०७६ देखि मल्लरानी गाउँपालिका र ऐरावती गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको हो ।

मल्लरानी गाउँपालिका–५ खैरामा बसोबास रहेको भन्दै मल्लरानीबाट र ऐरावती–४ धुवाङमा बसोबास रहेको भन्दै ऐरावतीबाट सामाजिक सुरक्षा भत्ता लिँदै आएका हुन् । दोहोरो सुविधा लिने सुनार दम्पती ऐरावती गाउँपालिकाका न्यायिक समिति सदस्य अर्जुन सुनारका बुबा–आमा हुन् । २०५५ भदौ ५ मा सुनार दम्पती साबिकको खैराबाट बसाइँ सरी धुवाङ गएका थिए । तर, बसाइँसराइको लगत कट्टा नगर्दा सुनार दम्पतीले दुई गाउँपालिकामा फरक–फरक सूचना दिएर सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराएका थिए ।

मल्लरानीको खैराबाट बसाइँ सरी ऐरावती गएको भए पनि मल्लरानीमा बसाइँसराइसम्बन्धी कुनै कागजात नभएको मल्लरानी गाउँपालिका–५ की वडा–सचिव साधना पाण्डेले बताइन् । ‘दुवैतिरबाट भत्ता बुझेको कुरा निस्किएपछि बसाइँसराइको रेकर्ड हेरेका थियौं,’ उनले भनिन्, ‘मल्लरानीमा कुनै कागजात छैन ।’ सामाजिक सुरक्षा भत्ता पछिल्लो समय अनलाइनमा इन्ट्री गरेर दिइने हुँदा दुवैतिरबाट एउटै व्यक्तिको डाटा इन्ट्री नहुने उनले बताइन् । बसाइँ सरी गएको व्यक्तिका विषयमा एक ठाउँबाट लगत कट्टा भएपछि मात्रै अर्को ठाउँमा दर्ता गर्ने प्रावधान छ ।

मल्लरानीबाट सुनार दम्पतीले २०७६ बाटै नियमित सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको गाउँपालिका एमआईएस अपरेटर लक्ष्मी पोख्रेलले जानकारी दिइन् । साबिकको खैरा गाविसमा वर्षौंपहिले आगलागी भएको थियो । उनका अनुसार आगलागीमा कागजात केही जलेका थिए । ‘त्यसैमा परेको भए थाहा भएन, नत्र भेटिएन,’ उनले भनिन् ।

पालिका प्रेस
थप जानकारी