थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा रहेको नवजागृत पुस्तकालयले ‘एक व्यक्ति, एक पुस्तक’ अभियान शुभारम्भसहित १७ औं पुस्तकालय दिवस मनाएको छ । जिल्लाकै पुरानो नवजागृत पुस्तकालयले दिवसको अवसरमा भेटघाट र अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । ‘एक व्यक्ति एक पुस्तक’ अभियान अन्तर्गत कुमार नेगी, श्रीराम कार्की, रेम्स रायमाझी, बारुद रायमाझीले अभियानलाई सहयोगार्थ पुस्तक हस्तान्तरण गरेका थिए ।
अन्तरक्रियात्मक कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाईनुपर्ने, पुस्तकालय संवन्धि कानून निर्माण, नमूना पुस्तकालय निर्माण, पुस्तकालयमा जनशक्ति व्यवस्थापन, नगर स्तरिय पुस्तकालय समन्वय समितिको आवश्यकता, नगरभित्र भएका पुस्तकालयहरुको अध्ययन तथा अनुसन्धानका साथै अभिलेखिकरण हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो।

कार्यक्रममा बोल्दै नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले समयको परिवर्तन अनुसार पढ्ने संस्कृतिमा परिवर्तन आएको बताउँदै उनले पछिल्ला पुस्ता नविनतम प्रविधिमा रमाउन थालेकाले पुस्तकालयप्रति आकर्षण घट्दै गएको बताए । पत्रकार कुमार नेगीले समयको परिवर्तनसँगै अबका पुस्तकालयमा युवा पुस्ताको माग अनुसार पुस्तक तथा पाठ्य सामाग्री राखिनु जरुरी भएको बताउदै उनले भने, “सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै पाठ्यपुस्तकलाई डिजिटलाइज गर्नुपर्दछ ।’ कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले पुस्तकालयमा पाठक बढाउनको निम्ति विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ पुस्तकालयको महत्वको बारेमा अभिमुखिकरण गर्नुपर्ने बताए।

माओवादी जिल्ला सदस्य अरुण रायमाझीले पुस्तकालयको भौतिक संरचना पनि बसौं बसौं पढौं पढौं लाग्ने किसिमको हुनुपर्नेमा जोड दिदै पाठकलाई अधिकतम जोड्ने गरी पुस्तकालयको विकास गरिनुपर्ने बताए । पुस्तकालयका पुर्व अध्यक्ष मधुसूदन रायमाझीले मकवानपुर जिल्लामै दुइवटा पुस्तकालय जिवित रहेको र त्यसमध्य थाहामा रहेको नवजागृत पुस्तकालय पनि पर्ने हुदा ५६ बर्षको गौरवपूर्ण इतिहास बोकेको यस पुस्तकालयको संरक्षणमा युवा पुस्ताले देखाएको चासोले आफू हर्षित भएको बताए ।
नवजागृत पुस्तकालयका अध्यक्ष सुमन बिष्टको अध्यक्षता तथा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्