मकवानपुर थाहा नगरपालिका क्षेत्रमा आत्महत्याका घटनामा कमी आएको छ । इलाका प्रहरी कार्यालय पालुङको अभिलेख अनुसार अघिल्ला वर्षहरुको तुलनामा आत्महत्या गर्नेहरुको संख्यामा फराकिलो अंकले कमी आएको हो ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा थाहा नगरपालिकामा ११ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढि वडा नम्बर ४ मा ५ जना रहेका छन् । ४ नम्बर वडाका ३ पुरुषले झुण्डिएर, एक महिलाले बुडेर र एक पुरुषले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । वडा नम्बर ३ मा एकजना पुरुषले डुबेर आत्महत्या गरेको प्रहरीसंग तथ्याङ्क छ ।

वडा नम्बर ५ मा एक पुररुषले विष सेवन गरेर आत्महत्या गरेका छन् भने वडा नम्बर ६ मा दुई पुरुषले झुण्डिएर र वडा नम्बर ५ मा एक जना पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् । त्यसैगरी वडा नम्बर १० मा एक जना पुरुषले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी पालुङले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा थाहा नगरपालिका क्षेत्रमा झुण्डिएर ११ र विष सेवनबाट ९ गरी कुल २० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा झुण्डिएर ६ र विष सेवन गरेर ३ जनाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

यसैबीच आत्महत्याका घटना घटनाप्रति नगर प्रमुख विष्णु बहादुर विष्टले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रममै उच्च चासो व्यक्त गरेका छन् । प्रमुख विष्टले आत्महत्या न्यूनिकरणको लागि पालिकाले कार्यक्रमहरु संचालन गरिरहेकोमा त्यसलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले नागरिकसंग प्रत्येक्ष सरोकार राख्ने स्वास्थ्य अन्तर्गत मानसिक स्वास्थ्य कार्यक्रमलाई इङ्कित गर्दै हाल संचालन भइरहेको कार्यक्रमको भने प्रशंसा गरे ।

यसैबीच थाहा नगरपालिकाले सञ्चालन गरेको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत मानसिक रोग खोज र उपचार सम्बन्धि कार्यक्रम सञ्चालन भैरहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । उनले भने–‘मानसिक रोगकै कारण मानिसहरु आत्महत्यातर्फ उन्मुख हुन्छ हामीले त्यस विरुद्ध कार्यक्रम सञ्चालन गरेका छौं ।’ कार्यक्रमककै कारण नगर क्षेत्रमा आत्महत्या गर्नेको संख्यामा कमी आएको बलामीको दाबी छ । पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा २ सय २२ जना मानसिक रोगीको परीक्षण गरेको छ । यसमध्ये डिप्रेशनका ३७ जना, एन्जाइटिक ६६ जना, कन्भर्सन डिसअर्डर ११ र एक्युट साइकोसिस ११ जना गरी १ सय २५ जनाले नियमित औषधि सेवन गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख बलामीले बताए । उनीहरु सबैले सेवन गर्ने औषधि नगरपालिकाले निःशुल्क उपलब्ध गराउने गरेको छ । प्रत्येक महिना विशेषज्ञ डाक्टरसहितको शिविर पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर आयोजना गर्ने गरिएको बलामीले बताए ।

त्यसैगरी थाहा नगरपालिकामा सञ्चालन भैरहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत पनि समुदायमै पुगेर मानसिक स्वास्थ्य सम्बन्धि मनोसामाजिक परामर्श दिने गरिएको कार्यक्रमकी वित्तीय साक्षरता सहजकर्ता मेलिना केसीले जानकारी दिइन् । यस किसिमको कार्यक्रम घर भेट र समूहमा गरी दुई किसिमबाट गरिने केसीको भनाइ छ । कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा घरभेट मार्फत ३२ जनासहित समुहमा समेत गरी करिब १ सय ५० जनालाई परामर्श दिइएको सामी कार्यक्रमकी मनोसामाजिक परामर्शकर्ता सुनिता बस्नेतले जानकारी दिइन् ।

पालिका प्रेस
थप जानकारी