सल्यानकाे कालीमाटी गाउँपालिका–५ दम्दवालीकी ४५ वर्षीय भीमाकुमारी पुन एक वर्षअघि झिसमिसेमै उठेर एक घण्टा हिँडेर जरुवाखोला झर्न बाध्य थिइन् । लामो समय पानीको गाग्री बोकेर ओसार्दा उनीमा ढाड दुख्ने समस्यासमेत छ । ‘पानीका लागि भोगेका दुःख त कति छन् कति,’ उनले भनिन्, ‘कुनै बेला महिला र बालबालिका दिन नै पानी ओसारेर बित्थ्यो ।’

हात्तिदमारकी ५० वर्षीया निर्मला गाहामगरको समस्या उनको भन्दा फरक थिएन । २०५८ सालमा झन्डै एक करोड खर्च गरी विश्व बैंकले निर्माण गरेको थियो । खानेपानी योजना एक बर्ष नबित्दै तहसनहस भएपछि उनले पनि एक घण्टा हिँडेर शारदा नदीमा पुगी पानी ल्याउनुपर्ने बाध्यता थियो । अहिले उनको घर नजिकै खानेपानीको धारा छ । ‘खानेपानीका लागि कहिले शारदा नदी त कहिले आसपासका कुवाहरू चहार्नुपर्थ्यो,’ उनले भनिन्, ‘पानीकै लागि कतिसँग झगडा पर्‍यो, एक घण्टासम्म पालो कुरेर पनि पानी ल्याइयो ।’

अहिले कालीमाटी गाउँपालिका–५ हात्तीदमार र दम्दवालीका बासिन्दाले झन्डै १० वर्षपछि घरघरमा पानीको सुविधा पाएका छन् । कालीमाटी गाउँपालिका र कर्णाली प्रदेश सरकारको झन्डै २ करोड बजेटबाट लिप्ट खानेपानी योजना सम्पन्न भएपछि स्थानीयको घरघरमा पानी भर्न पाउने सपना पूरा भएको हो । योजना सम्पन्न भएपछि हात्तीदमार र दम्दवालीका ३ सय घरमा एक घर एक धारा जडान भएको छ

पालिका प्रेस
थप जानकारी