नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले हेटौँडा उपमहानगरपालिका वडा नं. १२ मा हुने उप निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन । बिहीवार हेटौँडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारले संभवत् मङ्सिर सम्म उपनिर्वाचन हुनसक्ने बताउँदै जितको तयारीमा लाग्न आग्रह गरे ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाअध्यक्ष पद रित्त रहेको छ । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा १२ नम्बर वडाअध्यक्षमा दोश्रो पटक ललित घलान निर्वाचित भएका थिए । उनले वडाअध्यक्षबाट राजिनामा दिएर जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि सो पद रित्त रहेको हो ।

केन्द्रीय सदस्य गौतमले उच्च मनोवलका साथ अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । माओवादी केन्द्र सरकारबाट बाहिरीएको प्रसङ्ग जोड्दै उनले राष्ट्रिय राजनीतिमा माओवादी शिर उच्च गरेर बाहिर निस्केको बताए । उनले माओवादीले सबैको शिर ठाडो हुने काम गरेको बताउँदै शुसासन र भ्रष्टाचार बिरुद्ध लागेपछि बिचौलिया मिलेर सरकार निर्माण गरेको आरोप लगाए ।

माओवादी केन्द्रका नेता ललित घलानले मकवानपुरमा माओवादीको मत बढेको बताए । उनले नआत्तिकन अब हुने उपनिर्वाचनमा माओवादीलाई जिताउन लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका ञसंयोजक भीम पाख्रिन, नेताहरु सर्केश घलान, विर बहादुर घलान, शुभरत्न गोले, भगीरथ नेपाल, भुवन खनाल लगायतकाको उपस्थिती रहेको थियो । माओवादी केन्द्र १२ नं. अध्यक्ष रामहरि पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी