मकवानपुर थाहा नगरपालिका क्षेत्रमा रहेका केही सामुदायिक र नीजि स्कूलहरुले चिठ्ठा कार्यक्रम ल्याइ विद्यार्थीहरु मार्फत जर्बजस्ती किन्न लगाउने क्रम तिब्र बढेको गुनासो पालिकामा पुगेको छ । विद्यार्थीहरु मार्फत गाउँघर, टोल तथा अभिभावकहरु र अन्य व्यक्तिहरुलाई जर्बजस्ती चिठ्ठा लिन लगाउने गरेको भन्दै थाहा नगरपालिकामा लिखित गुनासो दर्ता भएको हो ।

थाहा नगरपालिकाले ७ कार्तिकमा चिठ्ठा सम्बन्धी गुनासो आएको जानकारी गराउँदै कानुनले बन्देज लगाएको कार्य नगर्न वेवसाइटमा सूचना प्रकाशन गरी सबैलाई सूचीत गरेको छ । चिठ्ठा ऐन, २०२५ तथा नियमावली २०२७ को नियम ३ बमोजिम चिठ्ठा खोल्ने स्वीकृतीको निमित्त निवेदन दिने र नियम २७ बमोजिम प्रमुख जिल्ला अधिकारीको स्वीकृती नलिइ चिठ्ठा कार्यक्रम संचालन गरेको पाइएमा कार्यक्रम सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई प्रचलित कानून बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।

थाहा नगरपालिका क्षेत्रका केही सामुदायिक र नीजि स्कूलहरुले शैक्षिक भ्रमण, अवलोकन भ्रमणलगायतको बाहानामा चिठ्ठा कार्यक्रम ल्याएको मौखिक रुपमा पनि गुनासो आइरहेको थाहा नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी